२०८३ आश्विन २५ आईतवार
२०८३ आश्विन २५ आईतवार

काठमाडौँ । २०७२ सालमा आफ्नो लेखन, निर्माण तथा निर्देशनमा बनेको ‘भैरव’मार्फत धमाकेदार एक्सन पस्केर सबैलाई आश्चर्यमा पारेका निखिल उप्रेतीले आफ्नो नयाँ सिनेमा ‘आचार्य’को मंगलबार सार्वजनिक टिजरमार्फत थप आश्चर्य बाहिर ल्याएका छन् । सार्वजनिक टिजरले थप परिस्कृत र धमाकेदार एक्सनसहित निखिल दर्शकमाझ आउने बलियो संकेत गरेका छन् । नेपाली फिल्ममा अहिलेसम्मको नयाँ प्रयोगसहितको एक्शन समावेश गरि टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा निखिललाई आकर्षक स्टन्ट र एक्सन गर्दै गरेको देख्न सकिन्छ । यसपटक उनले दर्शकलाई फरक र विशेष शैलीको एक्सन देखाउने संकेत टिजरमार्फत सशक्त रूपमा गरेका छन् । सार्वजनिक टिजरमा एक्सन र इमोसनले भरिपूर्ण छ, जसमा निखिल उप्रेतीलाई फरक–फरक अवतारमा देख्न सकिन्छ । नेपाली फिल्ममा दर्शकको आङ नै जिरिङ्ग पार्ने खतरनाक स्टन्टको सुरुवात गर्ने निखिलले यस फिल्ममार्फत पनि त्यसलाई निरन्तरता दिएका छन् । सामान्यतः नेपाली फिल्ममा कमै देख्न पाइने उच्चस्तरका एक्सन र स्टन्ट टिजरमा समावेश गरिएका छन् । ‘आचार्य’ अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको दोस्रो फिल्म हो ।

यस फिल्ममा निखिलका साथै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको पनि अभिनय रहेको छ । फिल्ममार्फत पूर्णिका सिजापतिले नव–नायिकाका रूपमा डेब्यु गर्दैछिन् । त्यसैगरी, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै नेपाली कलाकार ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायतको अभिनय देख्न सकिन्छ ।

सौरभ लामा, मनु विक र नवराज थापाले छायाङ्कन गरेको यस फिल्ममा शुक्रराज शाहको एक्सन निर्देशन रहेको छ । बन्दे प्रसादले सम्पादन गरेको ‘आचार्य’को टिजर तथा ट्रेलर भने सन्देश शाहले तयार पारेका हुन् । निर्माण पक्षका अनुसार फिल्मको आधिकारिक ट्रेलर आगामी असोज १ गते सार्वजनिक गरिनेछ भने फिल्म असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

चितवन । । लाहुरे जीवनलाई बाहिरबाट हेर्दा पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडेर बुझिन्छ । तर यही जीवनशैलीसँग गाँसिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडा कति गहिरा छन् भन्ने कथा बोकेर आएको छ फिल्म ‘पेन्सन पट्टा’ । माओत्से गुरुङको निर्देशन तथा दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसले उठाउन खोजेको विषयबारे चासो बढाएको छ ।

सिटी सेन्टरस्थित विग मुभिजमा मंगलवार सार्वजनिक गरिएको ट्रेलरमा दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढेको देखिन्छ । परिवारमा वर्षौंदेखि चर्चा र स्मरणबाटै ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रले केवल एउटा व्यक्तिको खोजी गर्दैन, बरु लाहुरे परम्पराले परिवार, सम्बन्ध र समाजमा पारेको प्रभावको तह खोल्दै जान्छ । पेन्सनको अधिकारसँगै जोडिएको यो खोजी फिल्ममा पारिवारिक विगत, सम्बन्धको दूरी र पहिचानको प्रश्नसँग जोडिएको देखिन्छ ।

ट्रेलरले फिल्मको प्रस्तुति र दृश्यभाषा पनि आकर्षक रहेको संकेत गर्छ । भदौ २६ गतेदेखि दर्शकमाझ आउने ‘पेन्सन पट्टा’ले लाहुरे जीवनको चमकभन्दा पर रहेको भावनात्मक र सामाजिक पाटोलाई पर्दामा ल्याउने अपेक्षा गर्न सकिन्छ । फिल्मको ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।

फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनीभा तुलाधर, सुरज तामु, राज कौछा मगर, यासिली योख्खा, डिबी गुरुङ, प्रतिच्छ्या गुरुङ, सोल गुरुङ, अनुषा राई, मनोज गुरुङ, मनिका गुरुङ र कुबिना गुरुङको अभिनय रहेको छ ।

मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङले निर्माण गरेको फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजरका रूपमा छन् । सुशन प्रजापतिले छायांकन तथा सुरज तामुले कास्टिङ निर्देशन गरेका छन् ।

फिल्मको संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका छन् । निमेश श्रेष्ठ र केर डी. कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेका छन् भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् । सुरज तामु र केर डी. कोइन्च लिनुच सह–लेखक रहेको फिल्ममा राजेन्द्र मोक्तान कलरिस्ट तथा राजु याकचा कला निर्देशकका रूपमा रहेका छन् । ‘पेन्सन पट्टा’लाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन् ।

रत्ननगर । रत्ननगर वडा नं–२, सुब्बाचोकस्थित दुर्गा मन्दिरमा आयोजना गरिएको महायज्ञमा ५७ लाख ८१ हजार ८३८ रूपैयाँ सङ्कलन भएको छ । मन्दिरको भौतिक पूर्वाधार निर्माण र क्षेत्रफल विस्तारका लागि महायज्ञ आयोजना गरिएको हो ।

महायज्ञमा सबैभन्दा धेरै चन्द्रकुमारी पौडेलले आर्थिक सहयोग गरेकी छन् । स्काइराइडर स्कुलकी संस्थापक पौडेलले स्वर्गीय श्रीमान् दीपेन्द्र क्षेत्रीको स्मृतिमा एक लाख ७६ हजार १७५ रूपैयाँ दान गरेकी हुन् । पौडेललाई बाजागाजासहित उनको निवासबाट महायज्ञ स्थलमा ल्याइएको थियो ।

महायज्ञमा एक दर्जनभन्दा बढी व्यक्ति तथा संघसंस्थाले एक लाख रूपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् । किराना तथा खाद्य व्यवसायी संघ रत्ननगरले १ लाख ११ हजार १११, दुर्गाकुमार पुरीले एक लाख २५ हजार ५५५ रूपैयाँ, राजकुमार र गंगा पाठकले एक लाख १ हजार १११, देवमाया दाहालले १ लाख ११ हजार १११ रूपैयाँ, लीलाराज सुवेदीले १ लाख १२ हजार ५००, विष्णुप्रसाद घिमिरेले १ लाख २३ हजार ४५६, दुर्गा पौडेल केसीले एक लाख ५५ हजार ५५५ र खुमकुमारी दवाडीले एक लाख ५१ हजार १११ रूपैयाँ सहयोग गरेका हुन् । महायज्ञमा एक हजारदेखि एक लाख ७५ हजारसम्म आर्थिक सहयोग प्राप्त भएको छ ।

मन्दिरका अध्यक्ष शान्तमणि दुवाडीले धार्मिक आस्थाको केन्द्रबिन्दु दुर्गा मन्दिरलाई आकर्षक बनाउन र किरियापुत्री घर निर्माणका लागि सहयोग सङ्कलन गर्न महायज्ञ आयोजना गरिएको बताए ।

समापन कार्यक्रममा वडा नं–२ की वडा सदस्य रमा भट्टराई, स्काइराइडर स्कुलका निर्देशक दुर्गाकुमार पुरी, नवीन टोल विकास संस्थाका पूर्वअध्यक्ष पूर्ण पुरी, चेतना टोल विकास संस्थाका अध्यक्ष युवराज तिमिल्सिना, शान्तिनगर आमा समूहकी अध्यक्ष पम्फा दाहाल, शान्तिनगर टोल विकास संस्थाका पूर्वअध्यक्ष टेकबहादुर चापागाईं, नवीन आमा समूहकी अध्यक्ष खेमकुमारी इटनी, महायज्ञ मूल समारोह समितिका सदस्य भनकप्रसाद पौडेललगायतले मन्तव्य राखेका थिए ।

जग्गादाता गोविन्द आचार्य प्रमुखअतिथि रहेको समापन कार्यक्रममा महायज्ञ आर्थिक समितिका सदस्य नवराज तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले कथा वाचन गरेका थिए । भदौ १ गतेबाट सुरू भएको महायज्ञ मङ्गलबार सकिएको छ ।

भरतपुर । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा लक्की मिडिया हाउस चितवनले राष्ट्रिय चर्चित गायक/गायिकाको सहभागितामा विशेष तीज कार्यक्रम आयोजना गर्ने भएको छ । लक्की मिडिया हाउस चितवनको आयोजना एवम् डल्फिन फन पार्क एन्ड रिसोर्टको व्यवस्थापनमा ‘लुलु लेडिज ब्युटीपार्लर तीज विशेष कार्यक्रम’ हुन लागेको हो ।

कार्यक्रममा लोकदोहोरी क्षेत्रका चर्चित वरिष्ठ गायक राजु परियार र चर्चित वरिष्ठ गायिका शिला आलेको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रम भदौ २५ गते बिहीबार साँझ ६ः०० बजेदेखि भरतपुर–९, स्टेप बाइ स्टेप स्कुलअगाडि, सङ्गमटोलस्थित डल्फिन फन पार्क एन्ड रिसोर्टमा आयोजना हुनेछ ।

तीज पर्वलाई मनोरञ्जनात्मक तथा सांस्कृतिकरुपमा मनाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा राष्ट्रियस्तरमा चर्चित कलाकारहरुको साङ्गीतिक प्रस्तुतिसँगै तीजको मौलिक संस्कृति र परम्परालाई समेत प्राथमिकता दिइने आयोजकको भनाइ छ ।

लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ले तीज विशेष कार्यक्रमलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्नका लागि तयारी तीव्र पारिएको जानकारी दिए । डल्फिन रिसोर्टका प्रबन्ध निर्देशक सन्तलाल गुरूङका अनुसार कार्यक्रममा सहभागी दर्शकहरुलाई मनोरञ्जनसँगै तीजको विशेष माहोल प्रदान गर्ने गरी आवश्यक तयारी भइरहेको छ ।

राष्ट्रिय चर्चित कलाकारहरुको प्रस्तुति रहने भएकाले यसवर्षको तीज विशेष कार्यक्रम चितवनमा खास आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

भरतपुर । अभिनेत्री नीता ढुङ्गाना निर्देशित चलचित्र ‘पार्वती’ प्रदर्शनको सङ्घारमा छ । भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई लिएर दर्शकमा पनि उत्साह बढेको छ । प्रदर्शनपूर्व देश दौडाहामा रहेको चलचित्र युनिट मङ्गलबार चितवन आइपुगेको हो । चितवनमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रकी निर्देशक, कथाकार तथा नायिका ढुङ्गानाले अटिजमको कथा बोकेको ‘पार्वती’ले दर्शकलाई फरक स्वाद दिने बताइन् ।

अटिजम भएकी एक महिला पात्रको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रमा दिदी र भाइबीचको प्रेम, आत्मीयता र सङ्घर्षलाई देखाउन खोजिएको छ । चलचित्रमा नीताले अटिजम भएकी महिलाको पात्र निभाएकी छन् । कलाकार अशोक दर्जी उनको भाइको भूमिकामा छन् ।

नीताले अशोकले निभाएको भाइको चरित्रमा अन्य कलाकारलाई कल्पना नै गर्न नसकिनेसमेत बताइन् । चलचित्र प्रदर्शनपछि दर्शकहरु आफैँले पनि यो विषय मनन गर्ने उनको विश्वास छ । उनले अटिजम भएकी महिलाको चरित्र निभाउन यसबारे लामो समय अध्ययन गरेको बताइन् ।

अटिजम आफैँमा संवेदनशील विषय भएकोले पनि लामो समय अध्ययन गरेरमात्रै आफैँलाई अटिजम भएकी महिला पात्रको रुपमा पर्दामा उतारेको नीताले बताइन् । अटिजम भएकी महिलाको दैनिकीलाई नजिकबाट नियालेका कारण आफूले चलचित्र बनाएको उनको भनाइ छ ।

नीताको भाइको भूमिकामा रहेका कलाकार अशोक दर्जीले ‘पार्वती’ सबैले हेर्नैपर्ने सामाजिक कथा बोकेको चलचित्र भएको बताए । निर्माता हरिहर अधिकारीले चलचित्रको टिजर, ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाएको बताए । उनले प्रदर्शनपछि चलचित्रको कथाले नै सबै कुरा बोल्ने बताए ।

चलचित्रमा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरू विष्ट, राधिका कँडेल, राज पगेँनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ ।

चितवन । पुरुषोत्तम दुवाडी र प्रमिला दुवाडीको तीज कोशेली ‘माइतीको सम्झना’ सार्वजनिक भएको छ। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको गीतमा परदेसिएकी चेलीले गर्ने माइतीको सम्झना, चेलीका भावना र तीजको सांस्कृतिक पक्षलाई समेटिएको छ ।

गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ भने पुरुषोत्तम दुवाडीको शब्द र पुरुषोत्तम दुवाडी तथा जेबी ओलीको सङ्गीत रहेको छ । थेगो उपेन्द्र दुवाडीको रहेको गीतलाई यम थापाले एरेन्ज गरेका छन् ।

गीतको रेकर्डिङ सुमन रानामगरले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ पनि कुमार राना मगरले गरेका छन्। गीतको रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा गरिएको हो ।

‘माइतीको सम्झना’को भिडियोमा रेजी बस्नेत, कमल अर्याल, तारा अर्याल र सञ्जय दुवाडीको अभिनय रहेको छ । बाल कलाकारतर्फ अनिकेत पौडेल, समाइरा दुवाडी र आयान्स दुवाडी रहेका छन्। भिडियोको कोरियोग्राफी ड्रिम्स डान्स स्टुडियोले गरेको हो ।

भिडियोको प्रकाश व्यवस्थापन सुमन तामाङले गरेका छन् भने छायाङ्कन कृष्णप्रसाद देवकोटा र पुजन लामिछानेले गरेका हुन् । भिडियो निर्माण ह्याप्पी मिडिया नेटवर्क, चितवनले गरेको हो । गीतको निर्माता प्रमिला दुवाडी र आरती दुवाडी रहेका छन् भने रामु आचार्यले सम्पादन तथा निर्देशन गरेका छन् ।

तीजको मौलिक संस्कृति, चेली–माइतीबीचको आत्मीय सम्बन्ध र परदेशमा रहेका चेलीहरूको माइतीप्रतिको सम्झनालाई प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको ‘माइतीको सम्झना’ले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा निर्माण पक्षले गरेको छ । गीतको भिडियो ‘जेबी ओली अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेबिजको सङ्क्रमण देखिएको छ । नगर क्षेत्रका पशुमा रेबिजको लक्षण देखिएको हो । रत्ननगर–९ र १० को नमुनामा रोगको सङ्क्रमण पुष्टि भएको हो ।

पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा रोग सङ्क्रमण पुष्टि भएको हो । उनका अनुसार यो रोग लागेका गाईभैँसीले र्‍याल काड्ने, टाउको भित्तामा ठोक्ने, मान्छे या अन्य जनावारलाई टोक्न खोज्ने, पानी खान नखोज्ने, घाँस खान नखोज्ने, दूध घटाउने र मर्ने हुन्छ । कुकुर बिरालामा रेबिजविरुद्धको भ्याक्सिन लगाइए पनि अन्य पशु चौपायमा खासै यसको सुई लगाइँदैन ।

रोगको सङ्क्रमण देखिएसँगै सङ्क्रमित क्षेत्रमा पालिएका पशु चौपायमा रेबिजविरुद्धको खोप लगाउन सुरू गरिएको छ । यो रोग लाइसा नामक भाइरसका कारण लाग्ने गर्दछ । जिल्लाका अन्य पालिकाहरुमा समेत यस रोगको सङ्क्रमण देखिन सक्ने जनाउँदै उनले पशुपालक किसानलाई उच्च सावधानी अपनाउन आग्रह गरे ।

रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राजभण्डारीका अनुसार पालिकाका विभिन्न वडामा पालिएका पशुमा यो रोगको सङ्क्रमण देखिएको छ । यहाँका पशुहरुको नमुना सङ्कलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौँ पठाइएको छ । रोगको सङ्क्रमण देखिएपछि सङ्क्रमित क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले जानकारी दिइन् ।

उनका अनुसार यस आर्थिक वर्षमा सो पालिकामा चारवटा नमुना सङ्कलन गरिएको छ । दुईवटा नमुनाको परीक्षणका लागि पठाउने तयारी गरिएको छ । दुई वटामा सङ्क्रमणको पुष्टि भइसकेको छ । पशु मरेपछि नमुना परीक्षणका लागि पठाउने गरिन्छ । सङ्क्रमणको लक्षण देखिएका नौदेखि १० दिनको बीचमा पशु मर्ने गरेको उनले जानकारी दिइन् ।

यस पालिकाको वडा नम्बर ९, १० र १६ मा रेबिजको सङ्क्रमण देखिएको हो । यस क्षेत्रमा न्याउरी मुसा र स्यालको टोकाइले रेबिज सरेको उनको अनुमान छ । रेविजको सङ्क्रमण देखिएका क्षेत्रमा रहेका पशु तथा मानिसहरुमा रेविजविरुद्धको सुई दिन थालिएको उनले जानकारी दिइन् ।

कुकुर र जङ्गली जनावरको टोकाइबाट सर्ने यस रोग जङ्गलको आसपासमा रहेका कृषकहरुलाई सतर्कता अपनाउन र लक्षण देखिए तत्काल खबर गर्न अनुरोध गरिएको उनले बताइन् । जनावरले टोकेको वा चिथोरेको ठाउँमा तुरुन्तै १५ मिनेटसम्म साबुन र बगिरहेको सफा पानीले राम्ररी धुने, चिकित्सकको सल्लाहअनुसार तुरुन्तै र तोकिएको तालिकाअनुसार रेबिजविरुद्धको खोप लगाउने, घरपालुवा कुकुर र बिरालालाई नियमितरूपमा प्रत्येक वर्ष रेबिजविरुद्धको खोप लगाउने, शङ्कास्पद वा अनौठो व्यवहार देखाएका पशुहरूलाई अन्य जनावर र मानिसबाट टाढा सुरक्षित ठाउँमा थुनेर राख्ने गर्नुपर्ने उनको सुझाव छ ।

चितवन । चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइने भएको छ । यसका लागि जिल्ला समन्वय समिति चितवनको नबौँ जिल्ला सभाले साबिक जिल्ला विकास समितिको नाममा रहेको कित्ता नम्बर १९५९ को जग्गामध्ये एक बिघा १६ कठ्ठा १४ धुर जग्गा सहिद मैदान निर्माणका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरिएको थियो ।

महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले गेस्ट हाउस चौरको पृष्ठभूमि संरक्षण गर्दै ऐतिहासिककालदेखि देशका लागि योगदान गरेका सहिदहरूको सम्मान र सम्झनामा व्यवस्थित सहिद मैदान निर्माण गर्न लागिएको जानकारी दिए ।

उनले भने, ‘भरतपुरको मुटुमा रहेको यस ऐतिहासिकस्थललाई विभिन्न राष्ट्रिय तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने गरी र सहिदहरूको स्मृतिका लागि सहिद मैदानका रूपमा विकास गर्न लागेका हौँ । यसका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणको काम महानगरले अघि बढाएको छ ।’

सहिद मैदान निर्माणका लागि हाल एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । मैदान स्तरोन्नति तथा सम्याउने कार्यका लागि महानगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माणका क्रममा सङ्कलित माटो प्रयोग गरी मैदान पुर्ने काम भइरहेको छ । केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक अधिवेशनसमेत यही स्थानमा रहेको मञ्चमा भएको थियो ।

कार्यवाहक प्रमुख अधिकारीले गेस्ट हाउस चौरलाई सबैले साझा थलोका रूपमा प्रयोग गर्दै आएकाले यसलाई व्यवस्थित गरी शहीद मैदानका रूपमा विकास गर्न महानगरपालिकाले प्रक्रिया अघि बढाएको बताए ।

उनका अनुसार मैदानमा हाल रहेको मञ्चलाई व्यवस्थित तथा सुदृढ गरिनेछ । यसका साथै आकर्षक मुख्य प्रवेशद्वार, घेराबार, दुवैतर्फ ढल निकास, फुटपाथ, हरित क्षेत्र तथा अत्याधुनिक स्मार्ट शौचालय निर्माण गरिनेछ । यी सबै कामलाई एउटै प्याकेजमा समेटेर बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको छ ।

आगामी माघ १६ गते सहिद दिवसको अवसर पारेर सहिद मैदानको औपचारिक शुभारम्भ गर्ने लक्ष्य राखिएको कार्यवाहक महानगरप्रमुख अधिकारीले जानकारी दिए । सोही दिन भरतपुरलाई ‘बालमैत्री महानगरपालिका’ घोषणा गर्ने कार्यक्रमसमेत तय भएकाले दुवै कार्यक्रम एकैसाथ सम्पन्न गर्ने गरी प्राविधिक टोलीलाई निर्देशन दिइएको उनको भनाइ छ ।

यसैगरी, जिसस परिसरमा रहेको चार बिघा ११ कट्ठा १६ धुर जग्गामध्ये एक बिघा १६ कट्ठा १४ धुरमा सहिद मैदान र एक बिघा नौ धुरमा समन्वय पार्क निर्माण गर्ने गरी भरतपुर महानगरपालिकालाई जग्गा उपलब्ध गराउने निर्णय भएको जिसस चितवनले जनाएको छ ।

जिसस चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले साबिक जिल्ला विकास समिति तथा हाल जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको गेस्ट हाउस चौरलाई थप व्यवस्थित र सौन्दर्यीकरण गर्न सहिद मैदान तथा पार्क निर्माणका लागि भरतपुर महानगरपालिकालाई जग्गा उपलब्ध गराउने निर्णय जिल्ला सभाले गरेको बताए ।

उनका अनुसार ऐतिहासिककालदेखि सहिदहरूको सम्मान र सम्झनाका लागि शहीद मैदान तथा ज्येष्ठ नागरिक, बालबालिका र आमसर्वसाधारणका लागि समन्वय पार्क निर्माण गर्न लागिएको हो । महानगरपालिकाले उक्त क्षेत्रलाई व्यवस्थित र सौन्दर्यीकरण गर्दै दुवै योजना कार्यान्वयन गर्दा क्षेत्र थप प्रभावकारी र दिगो हुनुका साथै आम नागरिकको प्रत्यक्ष प्रयोगमा आउने उनले बताए ।

एक बिघा नौ धुर जग्गामा निर्माण हुने ‘भरतपुर समन्वय पार्क’लाई ज्येष्ठ नागरिक, बालबालिका तथा आम सर्वसाधारणका लागि मनोरञ्जन तथा पर्यटकीयस्थलका रूपमा विकास गरिने भएको छ । महानगरले पार्क निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले यही महिनाभित्र पार्कको विस्तृत परियोजना प्रतिवेदन तथा लागत अनुमान तयार गरी बोलपत्र प्रक्रियामा लैजाने तयारी गरेको कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले बताए ।

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा साउन महिनाको मासिक समीक्षा तथा कार्यसम्पादन प्रगति विवरणबारे सोमबार छलफल तथा अन्तर्क्रिया गरिएको छ ।

कार्यक्रममा १६ वटै वडाका आधारभूत स्वास्थ्यकेन्द्र तथा स्वास्थ्यचौकी प्रमुखहरुले आआफ्नो वडामा भए–गरेका स्वास्थ्यसम्बन्धी अद्यावधिक विवरण प्रस्तुत गरेका थिए ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले स्वास्थ्यसम्बन्धी प्रगति विवरण समयमै अद्यावधिक गर्न र नगरवासीलाई उत्कृष्ट सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीहरुलाई सुझाव दिए ।

उनले सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई लगाव, क्षमता र अनुभव लगाएर काम गर्न सुझाव दिँदै सोही आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्ने बताए । उनले भने, ‘तपाईंहरु स्वास्थ्यका सूचकहरुलाई ध्यानमा राखेर काम गर्नुहोस् । कार्यसम्पादन मूल्याङ्कनबाट काम गर्नेलाई गरौँ–गरौँ बनाउन र काम नगर्नेलाई मन लाग्ने बनाउन प्रेरित गर्ने भएकाले सोहीअनुसार उत्कृष्ट कर्मचारीको छनोट हुनेछ ।’

उनले उनले स्वास्थ्यकेन्द्र र स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य शाखासँग समन्वय गरी आपसी सहयोग र राय लिई स्वास्थ्यसेवाका सूचकहरुको अद्यावधिक गर्न निर्देशन दिए ।

स्वास्थ्य शाखा प्रमुख एवम् जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले स्वास्थ्यकर्मीहरुले प्रस्तुत गरेको प्रगति विवरणबारे समीक्षा गर्दै कमिकमजोरी सुधार गरी अगाडि बढ्न सबै स्वास्थ्यकर्मीहरुमा आग्रह गरे ।

सो अवसरमा सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले स्वास्थ्यकर्मीहरुले विगतमा गरेका कार्यसम्पादन प्रशंसायोग्य रहेको बताउँदै स्वास्थ्यको क्यालेन्डरअनुसार तोकिएका काम र जिम्मेवारी समयमै पूरा गरी नगरवासीलाई गुणस्तरीय सेवा प्रवाह गर्न जोड दिए ।

स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटाले सहजीकरण एवम् सञ्चालन गरेको कार्यक्रममा १६ वटै वडाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल र स्वास्थ्यचौकी तथा नगर स्वास्थ्यकेन्द्रका प्रमुख एवम् प्रतिनिधिबीच कार्यसम्पादन सम्झौता गरिएको थियो ।

चितवन । सरकारले ‘आर्थिक ऐन २०८३’ जारी गरेपछि हालसम्म जिल्लामा दुई हजार ९०६ फर्मले छूट सुविधा लिएका छन् । आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कको हालसम्म रहेको बक्यौतामध्ये बक्यौता र थप एक प्रतिशत कर बुझाएमा बाँकी ब्याज, जरिवाना, विलम्ब शुल्क मिनाहा हुने व्यवस्था ऐनले गरेको हो । ऐन जारीभएसँगै बक्यौता भुक्तान गर्ने क्रम सुरू भएसँगै राजस्वसमेत बढेको पाइएको छ ।

लामो समयसम्म करको बक्यौता रहेर भुक्तान गर्न नसकी व्यवसाय अगाडि बढाउन नसकेका करदाताहरुलाई एकपटकका लागि सरकारले यो अवसर दिएको आन्तरिक राजस्व कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बताए । उनका अनुसार जुनसुकै करको बक्यौता भए पनि यो सुविधा लिन सकिने छ । उनले भन, ‘यसलाई अवसरका रुपमा लिएर कर छूटको सुविधा उपभोग गर्नुहोस् ।’ यस्तो सुविधा पुनः आउन नसक्ने भन्दै आएको अवसर नगुमाउन आग्रह गरे ।

उनका अनुसार विसं २०८२ भदौ २ सम्म विवरण नबुझाएका सुन, चाँदी, गरगहना, हीरा, रत्न, पत्थरमा दिएको विलासिता शुल्क र मूल्य अभिवृद्धि करमा एउटा फर्मले छूट लिएको छ । संस्था दर्ता ऐन २०३४ लाई आयकर छूटअन्तर्गत दुई वटा फर्मले सुविधा लिएका छन् ।

आयकरतर्फ प्यान नम्बर नलिई कारोकार गर्ने सात वटा फर्मले छूट सुविधा लिएका हुन् । आयकरतर्फ प्यान नम्बर लिई हालसम्म कारोबार नगर्ने २६६ फर्मले यो सुविधा लिएका छन् । कार्यालयका प्रमुख खड्काका अनुसार आयकरतर्फ व्याज जरिवाना छूटको सुविधा कार्यालयमार्फत तीन सय २६ फर्म र अनलाइन सिस्टमबाट एक हजार ९६४ फर्मले सुविधा लिएका छन् ।

मूल्य अभिवृद्धि करतर्फ कर सङ्कलन नगरेको र विवरण पनि दाखिला नगरेका ४४, कर सङ्कलन गरेको तर विवरण दाखिला नगरेका ३८ फर्मले छूट सुविधा लिएका छन् । यस्तै, अन्तशुल्कतर्फ कारोबारको असुलउपर र विवरणमा छ वटा र इजाजत नवीकरण नगरेका २१६ फर्मले सुविधा लिएको खड्काले जानकारी दिए ।

आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्तर्फ विवरण पेस गरी कर नबुझाएका २३, कर निर्धारणबाट सिर्जित बक्यौता दाखिला गर्ने ११ वटा र विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने दुई वटा फर्मले छुट सुविधा लिएका छन् ।

जिल्लामा आयकरतर्फ ७४ हजार ३६६ करदाता रहेका छन् । तीमध्ये मूल्य अभिवृद्धि करमा ११ हजार ३४५ र अन्तशुल्कमा चार हजार ९६१ दर्ता भएका छन् । हालसम्मको तथ्याङ्कअनुसार मूल्य अभिवृद्धि करतर्फ सबै महिनाको विवरण नबुझाउने करदाताको सङ्ख्याअनुसार ५५ प्रतिशत रहेका छन् । आयकरतर्फ आर्थिक वर्ष २०८१–०८२ सम्म ३३ प्रतिशत करदाताले विवरण बुझाउन बाँकी देखिन्छ । आयकरतर्फ आर्थिक ऐन २०८३ ले दिएको छुट सुविधा लिने करदाता विसं २०८३ जेठ १५ देखि भदौ ५ गतेसम्म दुई हजार पाँच सय ६३ करदाताले विवरण बुझाई कर दाखिला गरिसकेको उनको भनाइ छ ।

मूल्य अभिवृद्धि करतर्फ ८२ करदाताले विवरण बुझाई कर रकम समेत दाखिला गरेको देखिएको छ । अन्तशुल्कतर्फ जम्मा २२२ करदाताले आर्थिक ऐन २०८३ को दफा ४३ (१) र (२) अनुसार अन्तशुल्क दस्तुर बुझेर विवरणसमेत दाखिला गरिसकेका छन् ।

गत आव २०८२–०८३ को साउनमा एक अर्ब ५३ करोड ३९ लाख १० हजार रुपैयाँ राजस्व सङ्कलन भएकोमा यस वर्षको साउनमा एक अर्ब ८१ करोड ५५ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए । अघिल्लो आवको यसै अवधिमा भन्दा चालु आवको यस अवधिमा २८ करोड रुपैयाँ राजस्व बढी सङ्कलन भएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।