
भरतपुर । चितवनका स्थानीय पालिकास्तरीय एकदिने ‘प्रिभेन्ट टिबी टु इन्ड टिबी’ परियोजनाको समीक्षा तथा अभिमुखीकरण कार्यक्रम इच्छाकामना–२, मायाटारमा बिहीबार सम्पन्न भएको छ ।
ब्रिटेन नेपाल मेडिकल ट्रस्ट युके, रोटरी इन्टरनेसनल एवम् रोटरी क्लब अफ मिड टाउन काठमाडौँको आर्थिक सहयोग तथा विराट नेपाल मेडिकल ट्रस्ट र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको सहयोग, समन्वय र सहकार्यमा सुसुप्त क्षयरोगको अवस्था र चितवनमा सम्पन्न भएका कार्यक्रमबारे समीक्षा गरिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका कार्यालय प्रमुख निर्मल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तथा सहजीकरण गर्दै जनस्वास्थ्य कार्यालय चितवनका क्षयरोग कार्यक्रम फोकल पर्सन जयराम दुवाडीले चितवनमा आर्थिक वर्ष २०८२–०८३ मा सर्ने खालको सक्रिय क्षयरोग लागेका बिरामीको संख्या एक हजार १२५ रहेको जानकारी दिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै क्षयरोग कार्यक्रम फोकल पर्सन दुवाडीले सक्रिय क्षयरोग लागेका बिरामीको घरपरिवारका पाँच वर्षमाथिका दुई हजार ४९७ जना सदस्यहरुको छालाको जाँच (मन्टु टेस्ट) गरी सुसुप्त क्षयरोग भए–नभएको यकिन गरिएको थियो । जसमध्ये एक हजार २७ जनामा सुसुप्त क्षयरोगको किटाणु रहेको पाइएको थियो ।
सक्रिय क्षयरोग लागेका बिरामीको सम्पर्कमा रहने परिवारका सदस्यहरुलाई समेत टिबी सर्न सक्ने सम्भावना हुने भएकाले मन्टु टेस्ट गरिएको उनले बताए । सुसुप्त क्षयरोगको किटाणु देखिएका एक हजार २७ जनामध्ये चितवनमा ८९७ जनाले औषधि सेवन गरी ‘प्रिभेन्ट टिबी टु इन्ड टिबी’ अर्थात् टिबी रोग अन्त्य गर्नका लागि रोगको निवारण गरिएको थियो । उनका अनुसार सक्रिय क्षयरोगीले ६ महिनासम्म औषधि सेवन गर्नुपर्छ भने सुसुप्त क्षयरोगको लागि हप्ताको एकदिन १२ हप्तासम्म औषधि खानुपर्छ ।
‘प्रिभेन्ट टिबी टु इन्ड टिबी’ परियोजनाको बारेमा प्रकाश पार्दै विराट नेपाल मेडिकल ट्रस्टका कार्यक्रम प्रबन्धक रामनारायण पण्डितले विसं २०८२ साउनदेखि हालसम्म परियोजनामार्फत तीन हजार ६५ जनालाई सुसुप्त क्षयरोगका बारेमा सचेतनामूलक जानकारी दिइएको, १९१ जना स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको मन्टु टेस्ट गरिएको र ८९७ जना सुसुप्त क्षयरोगको किटाणु देखिएकाहरुको एक्स–रे गरिएको जानकारी दिए ।
कार्यक्रममा सहजीकरण गर्दै कार्यक्रम प्रबन्धक पण्डितले चितवनका सातवटै पालिकामा गरिएका सुसुप्त क्षयरोग परीक्षणबारे जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिकामा ९०० जनाको मन्टु टेस्ट गरिएकामा ४३६ जनामा सुसुप्त क्षयरोगका किटाणु देखिएको थियो । यस्तै, राप्ती नगरपालिकामा ३६५ जनाको परीक्षण गरिएकामा १४८, कालिका नगरपालिकामा २६४ जनाको परीक्षणमा १२१, खैरहनी नगरपालिकामा २९० जनामा ११९, रत्ननगर नगरपालिकामा ३४५ जनामा ७३, इच्छाकामना गाउँपालिकामा १२५ जनामा ६९ र माडी नगरपालिकामा २०८ जनाको मन्टु टेस्ट गरिएकामा ६१ जनामा सुसुप्त क्षयरोगका बिरामी फेला परेका थिए ।
सुसुप्त क्षयरोगको किटाणु देखिएका बिरामीमध्ये भरतपुरमा ३२९, राप्तीमा १४२, कालिकामा ११५, खैरहनीमा ११६, रत्ननगरमा ६५, इच्छाकामनामा ६९, माडीमा ६१ जनाले औषधि सेवन गरी रोग निदान गरेको पण्डितले जानकारी दिए ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका कार्यालय प्रमुख निर्मल घिमिरेले टिबी रोग अन्त्य गर्नका लागि सुसुप्त अवस्थामा रहेका क्षयरोगको निदान गर्न जरूरी रहेको बताउँदै विभिन्न संस्थाको सहयोगमा विराट नेपाल मेडिकल ट्रस्टले ‘प्रिभेन्ट टिबी टु इन्ड टिबी’ परियोजनामा खेलेको भूमिका सराहनीय रहेको बताए । कार्यक्रममा सहभागीका तर्फबाट खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज खनालले मन्तव्य राखेका थिए ।
समीक्षा कार्यक्रममा चितवनका सातवटै स्थानीय पालिकाका स्वास्थ्य शाखा प्रमुख, क्षयरोग फोकल पर्सन, जनस्वास्थ्य कार्यालय चितवनका कर्मचारी एवम् बिएनएमटी नेपालका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा सम्बन्धित पालिकाका स्वास्थ्य शाखा प्रमुख र क्षयरोग फोकल पर्सनहरुले आआफ्ना पालिकामा क्षयरोग अन्त्यका लागि भइरहेका पहल तथा परियोजनाले आगामी दिनमा गर्नुपर्ने कार्यक्रमका बारेमा सुझाव प्रस्तुत गरेका थिए ।





