भरतपुर । चितवन उद्योग वाणिज्य संघले आइतबार अपिल जारी गर्दै अबदेखि सोमबार व्यवसाय नियमित सञ्चालन गर्न र शनिबार मात्रै व्यवसाय बन्द गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।
विगत लामो समयदेखि प्रत्येक सोमबार व्यवसाय बन्द गर्ने अभ्यास व्यावसायिक अनुशासन, ऐक्यबद्धता तथा बजार व्यवस्थापनको सकारात्मक अभ्यासका रूपमा रहँदै आएको भन्दै संघले नेपाल सरकारले शनिबार र आइतबारलाई सार्वजनिक बिदा लागू गरिसकेको अवस्थामा सोमबारसमेत बजार बन्द हुँदा व्यवसायी, उपभोक्ता तथा सेवाग्राहीमा अन्योल सिर्जना भएको जनाएको छ ।
यसै सन्दर्भमा आइतबार संघ र विभिन्न वस्तुगत संघबीच सम्पन्न संयुक्त बैठकले अब उप्रान्त सम्पूर्ण व्यवसाय सोमबार नियमित सञ्चालन गर्ने तथा शनिबार सामूहिकरूपमा व्यवसाय बन्द गर्ने निर्णय गरेको संघका अध्यक्ष चिरन्जीवी सुवेदीले बताए ।
उनले संघले व्यवसाय सञ्चालन गर्ने वा नगर्ने अधिकार प्रत्येक व्यवसायीमा निहित रहे पनि एउटै दिन सामूहिकरूपमा व्यवसाय बन्द गर्ने अभ्यासले व्यवसायीहरूको साझा आवाजलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । विशेषगरी कर नीति, बजार व्यवस्थापन, व्यावसायिक हकहित, आर्थिक चुनौती तथा निजी क्षेत्रसँग सम्बन्धित विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउन सामूहिक एकता महत्त्वपूर्ण हुने संघले अपेक्षा गरेको छ ।
यस्तै, शनिबार एक दिन व्यवसाय बन्द गर्दा व्यवसायी तथा कर्मचारीलाई नियमित विश्राम मिल्नुका साथै सरसफाइ, स्टक व्यवस्थापन, मर्मत सम्भार तथा आन्तरिक प्रशासनिक कार्य व्यवस्थित गर्न सहज हुने संघले जनाएको छ ।











