२०८३ असार २२ सोमबार
२०८३ असार २२ सोमबार

लगानी सुरक्षाका लागि औद्योगिक ग्राम स्थापनामा जोड

रत्ननगर । रत्ननगरमा ‘औद्योगिक ग्राम स्थापना र उद्योगीहरुका समस्या’ विषयक अन्तर्क्रिया कार्यक्रम गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिकाको सहयोगमा गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले लगानी सुरक्षाका लागि औद्योगिक ग्राम स्थापनाको आवश्यकता औँल्याएका छन् ।

कार्यक्रमका प्रमुखअतिथि एवं रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले नगरको औद्योगिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । व्यवसायीले उद्योगमा गरेको लगानी सुरक्षाका लागि औद्योगिक ग्राम आवश्यक रहेको उनले बताए ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संघका अध्यक्ष शंकर गिरीले व्यवसायीले भोग्दै आएको समस्या निराकरणका लागि औद्योगिक ग्राम आवश्यक रहेको भन्दै औद्योगिक ग्राम स्थापनाका निम्ति राज्यको सहयोग चाहिएको बताए ।

उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय चितवनका प्रमुख विनोद पौडेलले औद्योगिक ग्राम स्थापनासम्बन्धी सरकारी मापदण्ड, जग्गा छनोट प्रक्रिया, आवश्यक पूर्वाधार र उद्योगीहरुले पाउने सेवासुविधा तथा सहुलियतका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

रिजाल फुड एण्ड बेभरेजेज प्रालिका प्रबन्ध निर्देशक पुरूषोत्तम रिजालले ‘समृद्ध रत्ननगरको प्रस्थानविन्दु : नगरस्तरीय उद्योग ग्रामको अवधारणा, आवश्यकता र व्यावहारिक रोडम्याप’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा रत्ननगरको भौगोलिक र आर्थिक अवस्थालाई ध्यानमा राख्दै औद्योगिक ग्रामलाई ‘प्लग एन्ड प्ले’ मोडेलमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो ।

रिजालले बढ्दो सहरीकरण र उद्योगबीचको द्वन्द्व अन्त्य गर्न, उद्योगीहरुको पलायन रोक्न तथा साना उद्यमीहरुलाई प्रवद्र्धन गर्न औद्योगिक ग्रामको स्थापना अपरिहार्य रहेको बताए । उनले कृषिजन्य उद्योग, पर्यटन सहयोगी हरित उद्योग र मेडिकल क्लस्टरलाई मुख्य आधार बनाउनुपर्ने सुझाव दिए ।

संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा संघका पूर्वअध्यक्षहरु अनिलकृष्ण श्रेष्ठ, केशवनारायण श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, ज्ञानबहादुर विसुराल, कोषाध्यक्ष विनोद घिमिरे, कार्यसमिति सदस्यहरु तथा स्थानीय उद्योगी व्यवसायीहरुको उपस्थिति थियो ।

त्यसैगरी, रत्ननगर नगरपालिकाको सहयोगमा रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वच्छ र स्वस्थ माछा तथा मासु उत्पादनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रम उपमेयर यादवप्रसाद पाठकले उद्घाटन गरेका थिए ।

मासु पसलमा गर्नुपर्ने सुधार, मासु व्यवसायीले अपनाउनुपर्ने सतर्कता तथा ऐननियम र नियमावलीको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष गिरीले बताए । मासु व्यवसायीको लापर्बाहीका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै उनले व्यवसायीले अवलम्बन गर्नुपर्ने न्यूनतम सेवा मापदण्डका विषयमा जानकारी गराउने र कार्यान्वयनका लागि आग्रह गर्ने उद्देश्य रहेको बताए ।

उपमेयर पाठकले मासु व्यवसायीले लापर्बाही गरे त्यसको असर मानव स्वास्थ्यमा देखिने भन्दै जिम्मेबार बन्न आग्रह गरे । अनुगमन गर्दा व्यवसायीको फ्रिजमा कुहिएको मासुसमेत भेटिने गरेको भन्दै उनले त्यसतर्फ सचेत हुन आग्रह गरे । कार्यक्रममा पशु चिकित्सकहरु डा। रविन बस्ताकोटी र डा। अनुष्काराज भण्डारीले सहजीकरण गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।