रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइमा नगरवासीले विकास निर्माण, ढल निकास, बजार अनुगमन, मल आपूर्ति, शैक्षिक गुणस्तर, सुकुमबासी समस्या र कृषि अनुदानका विषयमा सुझाव दिएका छन् । साउनदेखि हालसम्म भएका कामकारबाहीको समीक्षा गर्दै नगरवासीको सुझाव सङ्कलनका लागि सार्वजनिक सुनुवाइ आयोजना गरिएको हो ।
कार्यक्रममा नगरवासीले नगरको विकास निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटनलगायतका विषयमा सुझाव दिएका छन् । नगरवासीहरुले कृषि तथा पशुपालनमा उत्पादनमा आधारित अनुदान वितरण, रत्ननगर हरियाली पार्कको प्रगति, पञ्चनदी र लौरीघोल तालको संरक्षणलगायतका विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा सहभागी अधिकांश नगरवासीले स्थानीय सरकारले सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन सुझाव दिएका थिए । कार्यक्रममा तुलसी गिरीले उपभोक्ता समितिको काममा बेहोर्नु परेको झन्झट र कर्मचारीको ढिलासुस्तीका विषयमा आफ्नो अनुभव राखेका थिए ।
यस्तै, नेकपा माओवादीका नगर इन्चार्ज रूद्र सीले सुकुमबासीका समस्याका विषयमा आफ्ना भनाइ राखेका थिए । यस्तै, रत्ननगर–१२ की निर्मला दङ्गाल, रत्ननगर–४ का केशवराज दाहाल, लक्ष्मीधर शर्मा, प्रमिला पाण्डे, नगेन्द्रराज पाण्डे, गोकर्ण गिरी, सीमा श्रेष्ठ, दीपक थापा, प्याब्सन नगरका अध्यक्ष भुवन थापालगायतले नगरको शैक्षिक, भौतिक, आर्थिक तथा किसानका समस्याबारे आआफ्ना भनाइ राखेका थिए ।
नागरिकको गुनासो र सुझाव सुनेपछि नगरप्रमुख प्रलाद सापकोटाले अन्य पालिकाको तुलनामा स्वास्थ्य, शिक्षा, खेलकुद र पूर्वाधार विकासका सवालमा तीव्ररुपमा काम भइरहेको र जनतालाई अधिकार दिलाउने सवालमा पनि स्थानीय सरकार गम्भीरताका साथ लागिपरेको बताए ।
उनले भने, ‘नगरपालिकाले भरतपुर अस्पताल र बकुलहर रत्ननगर अस्पतालमा २५ हजार रूपैयाँको निःशुल्क उपचार गर्ने सुविधा दिएको छ । यस्तो सुविधा नेपालका ७५३ पालिकामै छैन ।’ नगरवासीले भएका कामको प्रशंसा र हुन नसकेका कामको खबरदारी गर्नुपर्नेमा उनले जोड दिए ।
उनले सौराहाको पर्यटन प्रवद्र्धन गर्न र दीर्घकालीन आय वृद्धि गर्न निर्माणाधीन रत्ननगर हरियाली पार्क केही कानुनी जटिलताका कारण रोकिएको र अब छिट्टै ठेक्का प्रक्रियामार्फत काम अगाडि बढाइने बताए । उनले युरिया मलको समस्या स्थानीय सरकारले चाहेर पनि समाधान गर्न नसक्ने बताउँदै सङ्घीय सरकारबाट आएकोजति मल वडाहरुमा वितरण गरिएको बताए । उनले दूध र महमा उत्पादनमा आधारित अनुदान दिन सुरू गरिएको र आगामी दिनमा पनि कृषि औजार तथा प्राविधिक सेवा दिने नगरको नीति रहेको बताए ।
कार्यक्रममा उपप्रमुख यादवप्रसाद पाठकले नगरपालिकाले करमात्रै लिने गरेको, तर विकास नभएको भन्ने सवालको खण्डन गर्दै नगरको विकास निर्माणका बारेमा सबै वडाको अवलोकन गर्न अनुरोध गरे । पर्यटकीय सौराहामा १६ वटै वडामा खर्च हुने बजेटभन्दा बढी लगानी गरिएको भन्दै भएका कामको जस दिन कन्जुस्याइँ गर्न नहुने उनले बताए । उनले नगरका अव्यवस्थित र भूमिहीन गरी २५ सय सुकुमबासीमध्ये १७ सय कित्ताको जग्गा नापचाँच भइरहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले चैत मसान्तदेखि असार मसान्तसम्म कामको चाप बढी हुने भएकाले काममा ढिलासुस्ती हुने गरेको स्वीकार गर्दै कतिपय प्रक्रिया झन्झटिलो रहेकोले यसलाई आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए । एक लाख नागरिकको सेवाकै लागि कर उठाउने भएकाले कसैमाथि विभेद नरहेको उनले बताए । शैक्षिक संस्थावरपर सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइ गर्दै नियमित अनुगमन गर्ने, शिक्षामा सुधार गरी नीतिगतरुपमा कार्यान्वयनमा लैजाने तथा गत वर्ष सुरू भएका ठेक्कालाई क्रमागतरुपमा म्याद थप गरी सम्पन्न गर्ने र किसानको समस्या समाधानका लागि ट्रयाक्टरको भाडा मूल्य तोक्दै कार्यान्वयनमा लैजाने उनले बताए ।
कार्यक्रममा वडाध्यक्षहरु सोहेन्द्रराज खरेल र रामकुमार चौधरीले प्रश्नकर्ताको जवाफ दिएका थिए । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न विषयगत समिति, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।












