रत्ननगर । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा क्षति पुगेको छ ।
पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ ।
रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीन लामाका अनुसार रत्ननगर–११ अन्तर्गत पञ्चकन्या सामुदायिक वन क्षेत्रस्थित मनिखोला र रत्ननगर–९ को लालपर्सामा राखिएका मौरीघार सोमबार परेको अविरल वर्षाको बाढीले बगाएको तथा मौरीगोला नष्ट गरेको हो । अधिकांश घारमा मह निकाल्ने समय भइसकेकाले थप आर्थिक क्षति भएको उनले बताए ।
रत्ननगर–१२ का मनिखोला क्षेत्रमा शङ्कर भट्टको २५० घार, रत्ननगर–४ का रोशन विकको ७० घार र भरतपुर–१४ का दिनेश ढकालको ९५ घार गरी ४१५ घार प्रभावित भएका छन् । यस क्षेत्रमा केही घार सुरक्षित अवस्थामा फेला पर्ने सम्भावना रहे पनि अधिकांश मौरीगोला नष्ट भएको कृषि शाखा प्रमुख लामाले बताए ।
त्यसैगरी लालपर्सा क्षेत्रमा खैरहनीका लोकप्रसाद पराजुलीका ९० घार, रत्ननगर–४ का दीपक थापाका ९० घार र रत्ननगर–३ का एकबहादुर गुरूङका ९० घार गरी २७० घार प्रभावित भएका छन् । तीमध्ये करिब २५० घार बाढीले पूर्णरूपमा बगाएको र केही घारमात्रै भेट्टाएर सुरक्षित स्थानमा सारिएको प्रमुख लामाले जानकारी दिए । पानीको बहाव उच्च भएकाले सबै घार रहेको स्थानमा पुगेर एकिन विवरण सङ्कलन गर्न अझै कठिनाइ भइरहेको उनको भनाइ छ ।
“बाढीपछि केही घार भेटिए पनि अधिकांशका मौरीगोला नष्ट भइसकेका छन् । लालपर्सामा प्रभावित २७० घारमध्ये करिब २५० घार बाढीले बगाएको छ । एउटा घारको औसत मूल्य करिब रु १० हजार पर्छ । अधिकांश घारमा मह निकाल्ने समय भएकाले प्रतिघार चारदेखि पाँच किलोग्रामसम्म मह उत्पादन हुने अवस्थामा थियो । घारसँगै मौरीगोला र उत्पादन हुन लागेको महसमेत नष्ट हुँदा किसानलाई प्रारम्भिक रूपमा कम्तीमा रु ६० लाखबराबरको क्षति भएको अनुमान गरेका छौँ’, प्रमुख लामाले भने ।
नगरपालिकाले प्रभावित क्षेत्रको थप स्थलगत अनुगमन गरी विस्तृत क्षतिको विवरण सङ्कलन गरिरहेको उनले जानकारी दिए ।












