रत्ननगर । रत्ननगरमा चरिचरनका लागि जङ्गलनजिक राखिएका चितवनका ६ जना किसानको ६८० वटा मौरीसहितका घार बाढीले बगाएको छ । मौरीसहितका घार बगेपछि किसानहरुले ६५ लाख रूपैयाँ बढीको क्षति व्यहोर्न बाध्य भएका छन् ।
रत्ननगर वडा नं–११ स्थित मनिखोला पार्कबाट रत्ननगर वडा नं–१२ का किसान शंकर भट्टको २५०, रत्ननगर वडा नं–४ का रोशन विकको ७० घार र भरतपुर वडा नं–१४ का विकाश ढकालको ९५ घार गरी ४१० घार तथा रत्ननगर वडा नं–९, लालपर्साबाट रत्ननगर वडा नं–४ का दीपक थापाको ९० घार, वडा नं–३ का एकबहादुर गुरूङको ९० घार र खैरहनीका लोकनाथ पराजुलीको ९० घार गरी २७० मौरीसहितका घार बाढीले बगाएको छ ।
जङ्गली स्रोतको खोजीमा किसानहरुले मनिखोला पार्क र लालपर्सास्थित स्थानीय कृष्ण ओझाको गाई फार्मनजिक मौरीका घार राखेका थिए । बाढीका कारणले भट्टको मौरीपालन व्यवसायमा ठूलो धक्का परेको छ । एकैरातमा २५० मौरीको घारमा क्षति पुग्दा उनले २५ लाख घाटा व्यहोर्न बाध्य भएका छन् । ‘मेरो त सबै सकियो’, उनले भने, ‘अब उठ्न सक्ने अवस्था नै रहेन ।’ रत्ननगर नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिएपछि यहाँका किसानहरु उत्साहित भएका थिए । बाढीले मौरीसहितको घार बगाएपछि किसानहरु निराश भएका छन् ।
नेपाल मौरीपालक महासंघ रत्ननगरका अध्यक्ष इन्द्रप्रसाद रिमालले बाढीले मौरीपालन क्षेत्रमा ठूलो सङ्कट निम्त्याएको बताए । यस्तो नियति बिरलै किसानहरुले भोग्दै आएको भन्दै बाढीले किसानहरुलाई उठ्नै नसक्ने गरी घाइते बनाएको उनले बताए । सङ्कलन गरिएको मौरीको घारमा रहेका मौरीहरु समेत बाँच्ने अवस्था नरहेको उनको भनाइ छ ।
‘एकैरातमा सबै सखाप भयो’, किसान थापाले भने, ‘बाढीले बगाएका केही घार सङ्कलन गरेका छौँ, त्यो केही पनि काम लाग्दैन । घार बाढीले बगाएपछि मौरीहरु सबै मरेका छन्, फिर्ता ल्याउन नसक्ने गरी क्षति भयो, अब केही पनि बाँकी छैन ।’ थापाले दुई हप्ताअघि १०० घार अन्यत्र लगेका थिए । ‘१०० घार धन्न लगेछु’, उनले भने, ‘नत्र त्यो पनि बग्ने रहेछ ।’
किसान पराजुलीले जङ्गली स्रोतको खोजीमा लालपर्सामा मौरीसहितको घार ल्याएर राखेको बताए । ‘लगानी पूरै डुब्यो’, उनले भने, ‘उत्पादन दिने बेला भएका मौरीका घार सबै बगे ।’ बिहान आउँदा खेतमा केही घार रहेको भन्दै सङ्कलन गरे पनि त्यो फेरि प्रयोगमा आउने अवस्था नरहेको उनले बताए ।
खगेरी खोलामा आएको बाढी पसेर ओझाको गाई फार्ममा समेत ठूलो क्षति गरेको छ । ओझाको फार्ममा ४ वटा गाई, चारवटा भैँसी, तीनवटा पाडा र तीनवटा बाच्छी थिए । वस्तुभाउ सुरक्षित रहे पनि गाईभैँसीका लागि राखिएको दाना, चोकरसहित घरमा रहेको अन्नपात र लत्ताकपडासमेत बाढीले बगाएको छ ।












