रत्ननगर । रत्ननगर नगरपालिकाले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक सूचना जारी गर्दै नगरपालिका क्षेत्रभित्र धूमपान तथा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रचारप्रसारमा कडाइ गर्ने जनाएको छ ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार रत्ननगरभित्र रहेका सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, कलेज, स्वास्थ्य संस्था, होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात, व्यापारिक प्रतिष्ठान तथा अन्य सार्वजनिक स्थानहरूमा ऐनले तोकेका प्रावधानहरू अनिवार्यरूपमा लागू गरिने भएको छ ।
सूचनामा सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न पूर्णरूपमा निषेध गरिएको उल्लेख छ । साथै, १८ वर्षमुनिका बालबालिकालाई चुरोट, बिंडी, सुर्ती लगायतका कुनै पनि सुर्तीजन्य पदार्थ बिक्री वा वितरण गर्न नपाइने व्यवस्था गरिएको छ ।
त्यसैगरी विद्यालय, स्वास्थ्य संस्था तथा बालबालिका वा ज्येष्ठ नागरिक गृहसँग सम्बन्धित क्षेत्रको १०० मिटर वरपर सुर्तीजन्य पदार्थ बिक्री तथा वितरण गर्न प्रतिबन्ध लगाइएको छ। नगरपालिकाले यस्तो संवेदनशील क्षेत्रको वरपर सुर्तीजन्य पदार्थको पहुँच रोक्न विशेष निगरानी गरिने जनाएको छ ।
सूचनाअनुसार सुर्तीजन्य पदार्थको विज्ञापन, प्रचारप्रसार तथा प्रायोजन गर्न समेत निषेध गरिएको छ । प्रत्येक सार्वजनिक कार्यालय तथा संस्थाले आफ्नो परिसरमा ‘धूमपान निषेधित क्षेत्र’सम्बन्धी सूचना बोर्ड अनिवार्यरूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै फुटकररूपमा चुरोट, बिंडी तथा सिगरेटको खिल्ली बिक्री–वितरण गर्न पनि रोक लगाइएको छ । विद्यालयको पोसाकमा रहेका विद्यार्थीहरूलाई धूमपान तथा सुर्तीजन्य पदार्थ, ई–सिगरेट र भेप बिक्री तथा वितरण नगर्न, नगराउन सम्बन्धित व्यवसायी तथा सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
नगरपालिकाले सूचनामा उल्लेखित प्रावधानहरूको उल्लङ्घन भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ । जनस्वास्थ्य संरक्षण, युवा पुस्तामा बढ्दो सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरण तथा स्वस्थ समाज निर्माणका लागि उक्त व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ ।












