भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले मनसुनी वर्षाका कारण हुन सक्ने बाढी, पहिरो तथा अन्य विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै सडकमार्गबाट नारायणगढ–मुग्लिन हुँदै काठमाडौँसम्म आवतजावत गर्ने सबै सवारीसाधन र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी गरिएको सूचनामा जल तथा मौसम विज्ञान विभागले सम्भावित भारी वर्षा हुने क्षेत्रका लागि जारी गरेको ‘रेड अलर्ट’लाई ध्यानमा राख्दै यात्रा गर्नुअघि सडकको अवस्थाबारे यकिन जानकारी लिन अनुरोध गरिएको छ ।
सूचनाअनुसार काठमाडौँसम्मको सडकखण्डका विभिन्न स्थानहरुमा पटक–पटक पहिरो जाने गरेको अवस्थालाई ध्यानमा राख्दै सडकमा सञ्चालन हुने सार्वजनिक तथा निजी सबै प्रकारका सवारीसाधनका सवारीधनी, चालक, सहचालक र यात्रुले विशेष सतर्कता अपनाउनुपर्ने उल्लेख छ ।
विगतका वर्षहरूमा रातिको समयमा बाढी र पहिरोका कारण गम्भीर क्षति भएको अवस्थालाई दृष्टिगत गर्दै सम्भावित भारी वर्षा हुने दिनमा विशेषगरी रातिको यात्रा गर्दा थप सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।
साथै, सडकको कुनै खण्डमा अवरोध भए–नभएको यकिन जानकारी प्रहरी प्रशासनबाट लिएर मात्र यात्रा गर्न तथा सडक अवरुद्ध भएमा यात्रुलाई खाना, पानीको व्यवस्था मिलाउन र बाढी तथा पहिरोबाट सुरक्षित स्थानमा मात्र रोक्न अनुरोध गरिएको छ ।
सडक सञ्चालनमा आएको आधिकारिक जानकारी प्रहरी प्रशासनबाट प्राप्त भएपछि मात्रै यात्रा अघि बढाउन पनि प्रशासनले आग्रह गरेको छ । आपत्कालीन अवस्थामा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी बल नेपालका टोल–फ्रि नम्बर १००, १०३, १११४ र १२३४ मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।












