चितवन । भरतपुर अस्पताल प्रसूति गराउनेको पहिलो रोजाइ हुने गरेको छ । पहिले–पहिले टाढाटाढाबाट सुत्केरी गराउन आउने गरेकामा स्थानीयस्तरमा अस्पतालहरू खुलेपछि टाढाका बिरामीको सङ्ख्या घटे पनि स्थानीयको पहिलो रोजाइ भरतपुर अस्पताल बन्ने गरेको छ ।
प्रसूति सेवामा नेपालमा नै अग्रणी अस्पतालको रूपमा भरतपुर अस्पताललाई लिने गरिन्छ । सरकारी अस्पताल भएर सुत्केरी गराउन आउनेले विशेषज्ञ चिकित्सक र अनुभवी नर्सिङ सेवाका कारण सकेसम्म अधिकांशले भरतपुर अस्पतालमा शिशु जन्माउन चाहन्छन् । अस्पतालका प्रवक्ता एवं वरिष्ठ प्रसूति रोग बिशेषज्ञ सह प्रध्यापक डा रामप्रसाद सापकोटा गत आर्थिक वर्षमा सात हजार ८५३ जना महिलाले अस्पतालबाट प्रसूति सेवा लिएको बताउँछन् ।
उनका अनुसार तीमध्ये चार हजार २३५ जनाको सामान्यस्तरबाट शिशुलाई जन्म दिइएको छ भने तीन हजार ५४० जनाको शल्यक्रिया गरेर शिशुलाई जन्म दिइएको छ । ७० जनाको भ्याकुम र फोर्सएप नामक उपकरण प्रयोग गरेर शिशुलाई जन्म दिइएको छ ।
अघिल्लो आर्थिक वर्षमा आठ हजार ४२० जना आमाले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएका थिए । तीमध्ये तीन हजार ८२५ जनाको शल्यक्रिया गरेर शिशुलाई जन्म दिइएको हो भने चार हजार ४०८ जनाको सामान्य तरिकाले शिशुलाई जन्म दिइएको छ । १८७ जना आमाको उपकरण प्रयोग गरी शिशुलाई जन्म दिइएको हो । गतवर्ष ४५ प्रतिशतको शल्यक्रिया गर्नुपरेको थियो भने अघिल्लो आर्थिक वर्षमा यो प्रतिशत ४५ दशमलव ४ रहेको थियो । जटिल प्रकृतिका धेरै हुने भएकाले शल्यक्रियाको प्रतिशत अस्पतालमा बढी हुने गरेको उनको भनाइ छ ।
अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र २९ जना नर्सिङ सेवाका तालिम प्राप्त कर्मचारी रहेका छन् । जसका कारण सुत्केरी गराउनेलाई अन्यत्रभन्दा सहज हुने गरेको उनको भनाइ छ । अस्पतालमा नै २० शय्याको बाल सघन उपचार कक्ष र चार शय्याको कङ्गारु मदर केयरसमेत रहेको छ । अस्पतालमा दक्ष नर्स र मिड वाइफले मात्र बच्चा निकाल्न सहयोग गर्ने पाँच शय्याको बर्थिङ युनिटसमेत छ । प्रसूति सेवामा यस अस्पताललाई प्रसूति गृहपछिको व्यवस्थित र विश्वासिलोरूपमा लिने गरिन्छ ।
विगतका वर्षका तुलनामा पछिल्ला वर्षहरूमा सेवा ग्राहीहरूको सङ्ख्या क्रमश घट्दो छ । यसको कारण नवलपरासी, गोरखा, तनहुँ र मकवानपुरजस्ता धेरै बिरामी आउने गरेका जिल्लामा अस्पतालबाट दिइने सेवामा विस्तार गरी प्रसूति सेवा दिन थालिएको सापकोटा बताउँछन् । प्रसूति सेवालाई अस्पतालले उच्च प्राथमिकता दिएर जिल्लामा नै सेवा दिन थालेपछि बाहिरी जिल्लाका बिरामी घटेको उनको भनाइ छ ।
जटिल अवस्थामा भएका भने रिफरल भएर र स्वयं भरतपुर अस्पताल आउने गर्दछन् । अस्पतालमा बाल सघन उपचार कक्षको शय्या धेरै भएकाले जटिल समस्या देखिन सक्ने गर्भवतीलाई भरतपुर अस्पताल पठाउने गरिन्छ । त्यस्ता गर्भवतीको सङ्ख्या भने बढ्दो रहेको उनी बताउँछन् ।
भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यो अस्पतालमा टाढाटाढाबाट बिरामी आउने गरेका छन् । हिजोआज दैनिक तीन हजारभन्दा बढी बिरामीले अस्पतालबाट बहिरङ्ग सेवा लिँदै आएका छन् ।












