रत्ननगर । रत्ननगर नगरपालिकाले कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले नगरपालिकाअन्तर्गत कार्यरत कर्मचारीहरूको व्यापक हेरफेर गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको नयाँ कर्मचारी विवरणअनुसार अधिकांश वडाका वडा सचिवहरूको जिम्मेवारी परिवर्तन गरिएको हो ।
नगरपालिकाले लामो समयदेखि एउटै वडा तथा शाखामा कार्यरत कर्मचारीहरूलाई नयाँ जिम्मेवारीमा खटाएको जनाएको छ । नयाँ जिम्मेवारीअनुसार वडा नं– १ को वडा सचिवमा पदमराज सापकोटा, वडा नं–२ मा प्रदीप खरेल, वडा नं–३ मा टीका रेग्मी, वडा नं–४ मा बासुदेव रिजाल र वडा नं–६ मा पुष्पराज आचार्यलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी वडा नं–७ मा शङ्करबहादुर गिरी, वडा नं–८ मा केशवराज शर्मा, वडा नं–९ मा गंगाकुमारी सुवेदी, वडा नं–१० मा महेश सुवेदी र वडा नं–११ मा सूर्यप्रसाद ढुङ्गानालाई वडा सचिवका रूपमा खटाइएको छ ।
यस्तै, वडा नं–१२ मा सुरेन्द्र चौधरी, वडा नं–१४ मा रूपबहादुर पण्डित क्षेत्री तथा वडा नं–१६ मा प्रमिला शर्माले वडा सचिवको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
वडा सचिवहरू मात्रै होइन, नगरपालिकाले सहायक कम्प्युटर अपरेटर, सब–इन्जिनियर, कार्यालय सहयोगीलगायत अन्य कर्मचारीहरूको समेत विभिन्न वडा कार्यालय, शाखा तथा उपशाखामा सरुवा गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालका अनुसार कर्मचारीहरूको कार्यसम्पादनलाई थप प्रभावकारी, सेवाप्रवाहलाई चुस्त र प्रशासनिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले कर्मचारीहरुको आन्तरिक हेरफेर गरिएको हो ।












