भरतपुर । चितवन जिल्लामा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन् । ती निवेदनअनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत १२ करोड २२ लाख ८४ हजार ३३८ रुपैयाँ ठगी भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये दुई करोड २९ लाख ९८ हजार ६४३ रुपैयाँ फिर्तासमेत गरिएको छ । पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक, सञ्जालबाट लिङ्क पठाएर ठगी गर्ने गरिएको उनले बताए । यस्तै, उपहार परेको बहानामा ठगी गरिएको उनले जानकारी दिए । उनका अनुसार अहिले दैनिक ठगीका निवेदन आउने गरेको छ । सामान्यरुपमा २०० रुपैयाँदेखि लाखौँसम्मको ठगीको उजुरी आएको उनले जानकारी दिए ।
अनलाइन ठगीका निवेदन आउनेक्रम दैनिकजसो भएकाले यसबाट सजग रहन उनले आग्रह गरे । अपरिचित व्यक्तिले पठाएको रिक्वेस्ट एसेस्ट गर्ने, अनावश्यक लिङ्क नखोल्नेजस्ता कार्यहरु गर्न उनले सुझाव दिए । उनले भने, ‘अनलाइनको माध्यमबाट ठगिएको महसुस भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।’
यस्तै, गत आवमा साइबर क्राइमसम्बन्धी ३९० निवेदन दर्ता भएका छन् । यसमध्ये ३७५ निवेदनको फर्छर्योछ भएका छन् । १५ निवेदन फर्छ्र्योट हुन बाँकी छन् । यहाँ परेका निवेदनलाई नेपाल प्रहरी प्रदेश कार्यालयसँगको समन्वय गरेर काम गरिएको उनले जानकारी दिए । उनका अनुसार अघिल्लो आव २०८१–०८२ मा यो सङ्ख्या ४११ थियो । तीमध्ये ३९८ निवेदन फर्छ्र्योट गरिएको छ । यसमध्ये १३ मुद्दा फर्छ्र्योट हुन बाँकी थियो ।












