२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

भरतपुरमा स्थानीय पाठ्यक्रमले स्वीकृति पाएपछि पठनपाठन सहज

भरतपुर । लामो समयदेखि भरतपुर महानगरपालिकाभित्र स्थानीय पाठ्यक्रम विषयको पठनपाठनमा देखिँदै आएको अन्योल अन्त्य भएको छ ।

भरतपुर महानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन–अध्यापन हुने स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तकले महानगरपालिकाबाट स्वीकृति पाएपछि शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापनलाई पठनपाठन सञ्चालन गर्न सहज भएको हो ।

भरतपुरस्थित ब्रदर्स पब्लिकेसनद्वारा प्रकाशित कक्षा १ देखि ८ सम्मका स्थानीय पाठ्यक्रमसम्बन्धी पाठ्यपुस्तकलाई भरतपुर महानगरपालिकाले स्वीकृति प्रदान गरेको छ । स्वीकृत पाठ्यपुस्तक प्रयोगमा आएपछि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय विषयको पठनपाठनमा एकरूपता कायम हुने अपेक्षा गरिएको छ । यसअघि विद्यालय तथा शिक्षकहरूले पाठ्यक्रमका विषयवस्तुका आधारमा विभिन्न सन्दर्भसामग्री खोजी गरी पठनपाठन गराउँदै आएका थिए ।

स्थानीय अङ्कुरम् एकेडेमीमा स्थानीय पाठ्यक्रम अध्यापन गराउँदै आएकी शिक्षिका पवित्रा खनालले पाठ्यपुस्तक प्रकाशन भएर आधिकारिकरूपमा स्वीकृति प्राप्त भएपछि शिक्षण कार्य थप व्यवस्थित र सहज भएको बताइन् । उनका अनुसार यसअघि एउटै विषयका लागि पर्याप्त तथा एकीकृत पाठ्यसामग्रीको अभाव हुँदा शिक्षकहरूले आवश्यक सन्दर्भसामग्री खोज्न अतिरिक्त समय खर्च गर्नुपदथ्र्यो ।

विद्यालयअनुसार फरक सामग्री प्रयोग हुने भएकाले विषयवस्तुको प्रस्तुतीकरणमा समेत एकरूपता कायम गर्न चुनौती थियो । अब स्वीकृत पाठ्यपुस्तक उपलब्ध भएपछि ती समस्या हट्ने उनको विश्वास छ ।

रङ्गीन कलेवर र आकर्षक डिजाइनमा प्रकाशित पाठ्यपुस्तकहरूमा स्थानीय परिवेशलाई प्राथमिकताका साथ समेटिएको छ । पुस्तकको मूल्य कक्षा १ र २ का लागि १९५ रुपैयाँ, कक्षा ३ का लागि २०५ रुपैयाँ, कक्षा ४ का लागि २४० रुपैयाँ, कक्षा ५ र ६ का लागि २४६ रुपैयाँ, कक्षा ७ का लागि २५८ रुपैयाँ तथा कक्षा ८ का लागि २५५ रुपैयाँ कायम गरिएको छ ।

पाठ्यपुस्तकमा भरतपुर महानगरपालिका तथा चितवन जिल्लाका पर्यटकीय र धार्मिकस्थल, चितवनको इतिहास, स्थानीय रीतिरिवाज, धर्म–संस्कृति, जनसंख्या, शैक्षिक तथा आर्थिक अवस्था र प्राकृतिक स्रोतसम्बन्धी विषयवस्तु समेटिएका छन् । तस्बिर, चित्र, शीर्षक तथा उपशीर्षकहरूलाई समेत रङ्गीन क्लेवरमा प्रस्तुत गरिएको छ ।

चितवनसँगै तनहुँका केही भूभागको परिचयसमेत समेटिएको उक्त पाठ्यक्रम होमनाथ न्यौपाने, बेलराम गौतम तथा अर्जुन के. बरुवालले लेखेका हुन् भने पाठ्यपुस्तकको आवरण डिजाइन भिभिद क्रियसन, काठमाडौँले गरेको हो । स्थानीय इतिहास, भूगोल, संस्कृति र पहिचानसँग विद्यार्थीलाई प्रत्यक्षरूपमा जोड्ने उद्देश्यले तयार गरिएको यो पाठ्यपुस्तकले स्थानीय शिक्षाको प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।