चितवन । भरतपुर–१२, नौरङ्गेस्थित गुरूङ टोल बस्ने १६ वर्षीय रिदम पराजुलीलाई चक्कु प्रहार भएको घटनाका मुख्य अभियुक्त कारागार चलान भएका छन् ।
चक्कु प्रहार गरेपछि फरार रहेका भरतपुर–२२, पटिहानीका १९ वर्षीय विश्वास गुरूङलाई प्रहरीले पक्राउ गरी बिहीबार चितवन जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले एक लाख रुपैयाँ धरौटी माग गरेकामा बुझाउन नसकेपछि गुरूङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
अदालतका न्यायाधीश पुनराम खनालको इजलासले थुनछेक बहसपछि गुरूङसँग एक लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले घटना भएको दुई महिनापछि गुरुङलाई पक्राउ गरेको थियो । पराजुलीमाथि गुरुङसहित पाँच जनाको समूहले गएको जेठ ३१ गते चक्कु प्रहार गरेको थियो । चक्कु प्रहार गर्ने मुख्य व्यक्ति गुरूङ नै थिए । अन्य चार जना अभियुक्त त्यतिबेलै पक्राउ परेका थिए । सामान्य विवादको विषयलाई लिएर पराजुलीमाथि चक्कु प्रहार भएको थियो ।
चितवन जिल्ला अदालतले घटनाका एक अभियुक्त मिसन पौडेललाई केही दिनअघि पुर्पक्षका लागि हेटौँडास्थित बाल सुधारगृह पठाउने आदेश दिएको छ ।
त्यस्तै, १८ वर्षीय सुधीर क्षेत्रीलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ भने उमेर नपुगेका विशेष लोह र जेनिस गुरूङलाई साधारण तारेखमा रिहा गरिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश पुनाराम खनालको इजलासले उक्त आदेश दिएको हो ।












