चितवन । पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको छ । यहाँ विगत तीन आर्थिक वर्षमा बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको छ ।
गत आवमा यस अस्पतालको बहिरङ्ग सेवामा मात्र तीन लाख १७ हजार २६६ बिरामीले सेवा लिएका थिए । अस्पतालको तथ्यांकअनुसार आव २०८१-८२ मा दुई लाख ९६ हजार ५३८ तथा आव २०८०-८१ मा दुई लाख ४५ हजार ६९४ बिरामीले बहिरङ्ग सेवाबाट उपचार लिएका थिए । यहाँ दैनिक एक हजार २०० ले बहिरङ्ग सेवाबाट उपचार लिने गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक पुष्पराज आचार्यले जानकारी दिए। अस्पतालले अहिले बहिरङ्ग सेवाबाट २० प्रकारका उपचार सेवा दिँदै आएको छ ।
अस्पतालमा आउने बिरामीमध्ये ८५ प्रतिशत बिरामी स्वास्थ्य बिमाका रहेका छन् । उनका अनुसार गत आवमा दुई लाख ९५ हजार ४९ जनाले स्वास्थ्य बिमाबाट सेवा लिएका थिए । अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउने बिरामीको चाप पनि बढ्दै गएको छ । आकस्मिक कक्षमा आव २०८०-८१ मा १८ हजार १०७ जनाले सेवा लिएकामा आव २०८१-८२ मा २३ हजार ४६० र गत आवमा २७ हजार ६६ जनाले सेवा लिएका जनस्वास्थ्य निरीक्षक आचार्यले बताए।
आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीमध्ये आव २०८०-८१ मा तीन हजार ९८० जना, आव २०८१-८२ मा चार हजार ५२० र गत आवमा चार हजार ६८५ जनाले भर्ना भएर सेवा लिएका थिए ।
यस अस्पतालमा प्रसूति सेवा लिने बिरामीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ । अस्पतालका अनुसार आव २०८०-८१ मा ७५५ जना, आव २०८१-८२ मा ७५२ जना र गत आवमा ९२५ जनाले प्रसूति सेवा लिएका थिए । अस्पतालमा प्रसूति सेवा सुरु भएपछि यस क्षेत्रका महिलालाई भरतपुर अस्पतालसम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यस अस्पतालमा आएका बिरामीको गत आवमा एक हजार २७१ जनाको गम्भीर शल्यक्रिया गरिएको छ । आव २०८१-८२ मा एक हजार ३४ जनाको र आव २०८०-८१ मा एक हजार १८० जनाको गम्भीर शल्यक्रिया गरिएको थियो ।












