रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेबिजको सङ्क्रमण देखिएको छ । नगर क्षेत्रका पशुमा रेबिजको लक्षण देखिएको हो । रत्ननगर–९ र १० को नमुनामा रोगको सङ्क्रमण पुष्टि भएको हो ।
पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा रोग सङ्क्रमण पुष्टि भएको हो । उनका अनुसार यो रोग लागेका गाईभैँसीले र्याल काड्ने, टाउको भित्तामा ठोक्ने, मान्छे या अन्य जनावारलाई टोक्न खोज्ने, पानी खान नखोज्ने, घाँस खान नखोज्ने, दूध घटाउने र मर्ने हुन्छ । कुकुर बिरालामा रेबिजविरुद्धको भ्याक्सिन लगाइए पनि अन्य पशु चौपायमा खासै यसको सुई लगाइँदैन ।
रोगको सङ्क्रमण देखिएसँगै सङ्क्रमित क्षेत्रमा पालिएका पशु चौपायमा रेबिजविरुद्धको खोप लगाउन सुरू गरिएको छ । यो रोग लाइसा नामक भाइरसका कारण लाग्ने गर्दछ । जिल्लाका अन्य पालिकाहरुमा समेत यस रोगको सङ्क्रमण देखिन सक्ने जनाउँदै उनले पशुपालक किसानलाई उच्च सावधानी अपनाउन आग्रह गरे ।
रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राजभण्डारीका अनुसार पालिकाका विभिन्न वडामा पालिएका पशुमा यो रोगको सङ्क्रमण देखिएको छ । यहाँका पशुहरुको नमुना सङ्कलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौँ पठाइएको छ । रोगको सङ्क्रमण देखिएपछि सङ्क्रमित क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले जानकारी दिइन् ।
उनका अनुसार यस आर्थिक वर्षमा सो पालिकामा चारवटा नमुना सङ्कलन गरिएको छ । दुईवटा नमुनाको परीक्षणका लागि पठाउने तयारी गरिएको छ । दुई वटामा सङ्क्रमणको पुष्टि भइसकेको छ । पशु मरेपछि नमुना परीक्षणका लागि पठाउने गरिन्छ । सङ्क्रमणको लक्षण देखिएका नौदेखि १० दिनको बीचमा पशु मर्ने गरेको उनले जानकारी दिइन् ।
यस पालिकाको वडा नम्बर ९, १० र १६ मा रेबिजको सङ्क्रमण देखिएको हो । यस क्षेत्रमा न्याउरी मुसा र स्यालको टोकाइले रेबिज सरेको उनको अनुमान छ । रेविजको सङ्क्रमण देखिएका क्षेत्रमा रहेका पशु तथा मानिसहरुमा रेविजविरुद्धको सुई दिन थालिएको उनले जानकारी दिइन् ।
कुकुर र जङ्गली जनावरको टोकाइबाट सर्ने यस रोग जङ्गलको आसपासमा रहेका कृषकहरुलाई सतर्कता अपनाउन र लक्षण देखिए तत्काल खबर गर्न अनुरोध गरिएको उनले बताइन् । जनावरले टोकेको वा चिथोरेको ठाउँमा तुरुन्तै १५ मिनेटसम्म साबुन र बगिरहेको सफा पानीले राम्ररी धुने, चिकित्सकको सल्लाहअनुसार तुरुन्तै र तोकिएको तालिकाअनुसार रेबिजविरुद्धको खोप लगाउने, घरपालुवा कुकुर र बिरालालाई नियमितरूपमा प्रत्येक वर्ष रेबिजविरुद्धको खोप लगाउने, शङ्कास्पद वा अनौठो व्यवहार देखाएका पशुहरूलाई अन्य जनावर र मानिसबाट टाढा सुरक्षित ठाउँमा थुनेर राख्ने गर्नुपर्ने उनको सुझाव छ ।












