रत्ननगर । रत्ननगर वडा नं–२, सुब्बाचोकस्थित दुर्गा मन्दिरमा आयोजना गरिएको महायज्ञमा ५७ लाख ८१ हजार ८३८ रूपैयाँ सङ्कलन भएको छ । मन्दिरको भौतिक पूर्वाधार निर्माण र क्षेत्रफल विस्तारका लागि महायज्ञ आयोजना गरिएको हो ।
महायज्ञमा सबैभन्दा धेरै चन्द्रकुमारी पौडेलले आर्थिक सहयोग गरेकी छन् । स्काइराइडर स्कुलकी संस्थापक पौडेलले स्वर्गीय श्रीमान् दीपेन्द्र क्षेत्रीको स्मृतिमा एक लाख ७६ हजार १७५ रूपैयाँ दान गरेकी हुन् । पौडेललाई बाजागाजासहित उनको निवासबाट महायज्ञ स्थलमा ल्याइएको थियो ।
महायज्ञमा एक दर्जनभन्दा बढी व्यक्ति तथा संघसंस्थाले एक लाख रूपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् । किराना तथा खाद्य व्यवसायी संघ रत्ननगरले १ लाख ११ हजार १११, दुर्गाकुमार पुरीले एक लाख २५ हजार ५५५ रूपैयाँ, राजकुमार र गंगा पाठकले एक लाख १ हजार १११, देवमाया दाहालले १ लाख ११ हजार १११ रूपैयाँ, लीलाराज सुवेदीले १ लाख १२ हजार ५००, विष्णुप्रसाद घिमिरेले १ लाख २३ हजार ४५६, दुर्गा पौडेल केसीले एक लाख ५५ हजार ५५५ र खुमकुमारी दवाडीले एक लाख ५१ हजार १११ रूपैयाँ सहयोग गरेका हुन् । महायज्ञमा एक हजारदेखि एक लाख ७५ हजारसम्म आर्थिक सहयोग प्राप्त भएको छ ।
मन्दिरका अध्यक्ष शान्तमणि दुवाडीले धार्मिक आस्थाको केन्द्रबिन्दु दुर्गा मन्दिरलाई आकर्षक बनाउन र किरियापुत्री घर निर्माणका लागि सहयोग सङ्कलन गर्न महायज्ञ आयोजना गरिएको बताए ।
समापन कार्यक्रममा वडा नं–२ की वडा सदस्य रमा भट्टराई, स्काइराइडर स्कुलका निर्देशक दुर्गाकुमार पुरी, नवीन टोल विकास संस्थाका पूर्वअध्यक्ष पूर्ण पुरी, चेतना टोल विकास संस्थाका अध्यक्ष युवराज तिमिल्सिना, शान्तिनगर आमा समूहकी अध्यक्ष पम्फा दाहाल, शान्तिनगर टोल विकास संस्थाका पूर्वअध्यक्ष टेकबहादुर चापागाईं, नवीन आमा समूहकी अध्यक्ष खेमकुमारी इटनी, महायज्ञ मूल समारोह समितिका सदस्य भनकप्रसाद पौडेललगायतले मन्तव्य राखेका थिए ।
जग्गादाता गोविन्द आचार्य प्रमुखअतिथि रहेको समापन कार्यक्रममा महायज्ञ आर्थिक समितिका सदस्य नवराज तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले कथा वाचन गरेका थिए । भदौ १ गतेबाट सुरू भएको महायज्ञ मङ्गलबार सकिएको छ ।












