

हिरा लामा
अध्यापनको सिलसिलामा पश्चिम चितवनको रामपुर र शारदानगरमा करिब १० वर्ष बिताएँ । समयको त्यो अवधिमा थोर बहुत राजनीतिको कुरा चल्दा बेला बखतमा आउने एउटा नाम थियो- बखानसिंह गुरुङ । जुन नाम म सानो हुँदा ठूलो दाइहरुबाट पनि सुन्ने गर्थेँ । पछि बखान सहकारीको कुराहरु सुन्नमा आए । बखानसिंहको बारेमा अलि धेरै थाहा पाउँदै गएँ अनि लाग्यो बखानसिंहको बारेमा कसैले बायोग्राफी वा उपन्यास लेखोस् !
सौराहा । पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा ३५ करोड रुपैयाँको लागतमा रोयल जङ्गल भिल्लाज होटल सञ्चालनमा आएको छ । रत्ननगरका पर्यटन व्यवसायी माधव भट्टराईले ३५ करोड रुपैयाँको लगानीमा सो होटल सञ्चालनमा ल्याएका हुन् ।
सौराहामा स्तरीय होटल सञ्चालन गर्ने सोच पहिलेदेखि नै रहेको उल्लेख गर्दै सञ्चालक माधव भट्टराईले विगत चार वर्षदेखि होटल निर्माणमा जुटेको र अहिले आफ्नो सोच सार्थक भएको बताए ।
“हामीले स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरी यो होटल सञ्चालनमा ल्याएका हौँ,” सञ्चालक भट्टराईले भने, “हाम्रो उद्देश्य केवल होटल सञ्चालन गर्ने मात्र होइन, सौराहाको संस्कृति, प्राकृतिक सम्पदा र आतिथ्यतालाई प्रवर्द्धन गर्नु पनि हो ।”
होटलमा २७ वटा सुविधासम्पन्न कोठा, आकर्षक बगैँचा, राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृश्य अवलोकन गर्न सकिने सुविधा रहेको छ । होटलका कोठाहरू ५ हजार ५०० देखि १० हजार ५०० रुपैयाँसम्मका छन् । होटलमा उच्चस्तरीय सुविधा, सम्मेलन कक्ष, मनोरञ्जनका लागि अत्याधुनिक पूर्वाधार र अतिथिहरूको सहज आवासको व्यवस्था गरिएको प्रबन्ध निर्देशक साकार भट्टराईले जनाएका छन् । उनका अनुसार होटलले करिब ५० जनालाई रोजगारी प्रदान गरेको छ ।
होटलको उद्घाटन कार्यक्रममा सञ्चालकका बुबा वरिष्ठ समाजसेवी एवम् राजनीतिक व्यक्तित्व नन्दप्रसाद भट्टराईले होटल अब नाति पुस्ताले सम्हाल्ने बताउँदै व्यावसायिक सफलताको शुभेच्छा व्यक्त गरे ।
कार्यक्रममा रत्ननगर-६ का वडाध्यक्ष किरण महतो, रत्ननगर-७ का वडाध्यक्ष सजना महतो, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे, रेवानका अध्यक्ष ध्रुव गिरीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
सौराहामा स्तरीय होटलहरू थपिने क्रम जारी छ । यहाँका पुराना व्यवसायीले होटलहरूको स्तरोन्नति गरिरहेका छन् भने बाहिरी जिल्लाबाट आएका व्यवसायीहरूले पनि उच्चस्तरीय होटल सञ्चालनमा ल्याएका छन् ।
सौराहामा थपिएको रोयल जङ्गल भिल्लाजले सौराहाको पर्यटकीय आकर्षणलाई थप उजागर गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्दै स्थानीयलाई रोजगारी सिर्जना गर्ने विश्वास लिइएको छ ।
मलेखु । कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक बनेछ भन्ने लाग्न सक्छ । तर, ठाउँठाउँमा पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीले दिने सास्तीले फेरि यात्रुले देखेजस्तो रहेनछ भन्ने अनुभूति गर्छन् ।
विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गमा पानी परेको बेला कतिखेर कहाँनेर पहिरोले बाटो थुनिने हो पत्तो हुँदैन । डोजरले खारिएका भित्ताबाट झर्ने ढुङ्गामुढाबाट जोगिन धौधौ पर्छ ।
काठमाडौँदेखि धादिङ सम्मको माइक्रोबस चालक विकास श्रेष्ठ भन्छन्, “हिजोआज त सडकको खाल्डोमा भन्दा आँखा पहिरो झर्ने ठाउँमा पुर्याउनुपर्छ ।”
बुधबारदेखि यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ । ठाउँ ठाउँमा स(साना पहिरोले सडक थुनिने र सञ्चालन हुने क्रम चलिरहेको छ । घण्टौँ कुर्नुपर्ने गरी भने सडक थुनिएको छैन । त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड बर्खा लागेसँगै जोखिमपूर्ण छ ।
सडक फराकिलो बनाउन काटिएका भित्ताबाट खसेको स–साना पहिरोले अधिकांश सडक हिलाम्मे र धुलाम्मे हुने गरेको छ । आधा काम गरेर बाँकी रहेको स्थानका खाल्डाखुल्डीले साना ठूला सबै सवारी साधन गुडाउन गाह्रो छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमाल भन्छन्, “पृथ्वी राजमार्ग यतिबेला जोखिमपूर्ण छ । तर, हिँड्नै नसक्ने अवस्थाको छैन ।”
पहिरो र गेग्रानले सडक छियाछिया छ । सडकमा हरेकले चालक होसियार भएर ट्राफिक नियमको पालना गर्ने होभने मात्र सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ ।
मोटरसाइकल र स्कुटरलाई यो सडक पार गर्न निकै कष्ट छ । घाम लागेको बेला अधिकांश स्थान धुलाम्मे हुन्छ । पानी पर्यो भने त्यही धुलो लेदोमा परिणत भएर चिप्लो हुने गर्छ ।
“कहीँकतै असहज अवस्था सिर्जना नहोस्, विपद् नपरोस्, परिहालेछ भने धनजनको क्षति हुन नदिन चौबिसै घण्टा हामी खटिरहेका छौंँ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले भने ।
नागढुङ्गा नौबिसे क्षेत्रका पहिरो पूर्ण रूपले थामिएका छैनन् । कृष्णभीरदेखि मुग्लिनसम्मको सडकमा जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्न सक्ने जोखिम छ ।
नागढुङ्गादेखि मुग्लिनसम्म ९६ किलोमिटर राजमार्गमा हरेक समय कही न कही सडक एकतर्फी बन्छ । निर्माणधीन पुल र सवारी एकतर्फी हुनसक्ने साँघुरा स्थानको दुबैतर्फ प्रहरी तैनाथ गरेर चालकलाई सजग गराइरहेको श्रेष्ठले जानकारी दिए ।
नागढुङ्गाको चेकपोष्ट पृथ्वी राजमार्गमा दैनिक कति सवारी काठमाडौँ भित्रिन्छन् र कति बाहिरिन्छन् यकिन तथ्याङ्क छैन । सामान्य अवस्थामा दैनिक १३ हजार र चाडपर्वको बेला २० हजारसम्म सवारी आउजाउ हुने प्रहरीको अनुमान छ ।
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताएका छन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालको अवलोकन तथा अन्तर्क्रिया कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री बानियाँले राजनीतिक विचारभन्दा माथि उठेर काम गरिरहेको बताए ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको भन्दै त्यसका लागि आवश्यक बजेट तथा स्रोतको कमी हुन नदिने उनको भनाइ थियो । “पैसाको अभावका कारणले प्रतिष्ठानको कुनै पनि काम रोकिँदैन, तपाईंहरू ढुक्क हुनुहोस्,” मुख्यमन्त्री बानियाँले भने, “यो प्रदेशको गौरवको आयोजना हो, यसलाई द्रुत गतिमा अघि बढाउन सरकार पूर्ण प्रतिबद्ध छ।”
मुख्यमन्त्री बानियाँले नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा प्रदेश सभाबाट सर्वसम्मतरुपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित भएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा कुनै पनि प्रकारको राजनीतिक गर्न नहुने धारणा व्यक्त गरे । उनले प्रदेशकै गौरवको योजनाका रुपमा रहेको प्रतिष्ठानलाई द्रुत गतिमा अघि बढाउनुपर्नेमा जोड दिए ।
प्रतिष्ठानका विभिन्न शैक्षिक कार्यक्रमहरू विभिन्न स्थानमा छरिएर सञ्चालन हुँदा व्यवस्थापनमा कठिनाइ भएको भन्दै मुख्यमन्त्री बानियाँले एकै छानामुनि, एकीकृत भवनबाट सञ्चालन गर्न आग्रह गरे । यसका लागि आवश्यक भौतिक संरचना निर्माणमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गर ।
प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री बानियाँले स्वीकृत भएको २०० शैय्याको अस्पताल सञ्चालनका लागि आवश्यक तयारी तत्काल सुरू गर्नसमेत निर्देशन दिए । निर्माणाधीन बेसिक साइन्स भवनको काममा भएको ढिलासुस्तीप्रति चासो व्यक्त गर्दै उनले तोकिएको समयमा र सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिए ।
प्रतिष्ठानको विकासमा कुनै राजनीतिक बाधा अवरोध आउन नदिने उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको स्वास्थ्यसम्बन्धी गौरवको आयोजना भएकाले यसलाई द्रूत गतिमा अघि बढाइने बताए । प्रतिष्ठानका छरिएर रहेका शैक्षिक कार्यक्रमलाई एकै ठाउँमा सञ्चालन गर्न आगामी १० महिनाभित्र एकीकृत पूर्वाधार निर्माण गरिने र निर्माणाधीन हेटौँडा अस्पताल भवन निर्माण तत्काल अघि बढाउने उनले बताए ।
काठमाडौँ । देशमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
शाखाप्रमुख डा अभियान गौतमका अनुसार हाल १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र २० जनाको मृत्यु भएको छ ।
डा गौतमले जापानिज इन्सेफलाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको बताए । सत्तरी प्रतिशतभन्दा बढी १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामीको मृत्यु भएको छ । सङ्क्रमणबाट झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासीपूर्व, चितवन र नवलपरासी पश्चिममा मृत्यु भएको हो ।
स्वास्थ्यकर्मीहरुका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस हुने गर्छ । यसले मस्तिष्कमा गम्भीर सङ्क्रमण भई बिरामीको मृत्यु हुने गरेको छ ।
चितवन । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गरेको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ ।
उनले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको उक्त पात्रले समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै दर्शकको मन जितेको थियो । यो पात्र धेरैका लागि बाल्यकालको अभिन्न हिस्सा बनेको छ । लामो समयदेखि सानो पर्दा र रङ्गमञ्चमा हराइरहेका ‘हरिबहादुर’ नामक पात्रलाई अब दर्शकले ठूलो पर्दा अर्थात् चलचित्रमा देख्न पाउनेछन् ।
गएको वैशाखमा प्रदर्शन भएको चलचित्र ‘भूठान’ मा गम्भीर पात्रमा देखिएका अभिनेता आचार्यले आगामी चलचित्र ‘हरिबहादुरको जुत्ता’ मार्फत दर्शकलाई हँसाउन र मनोरञ्जन प्रदान गर्न ‘हरिबहादुर’ बनेर प्रस्तुत हुनेछन् ।
चलचित्रको श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै उनले समसामयिक विषयमा रमाइलो चलचित्र तयार भएको बताए । आचार्यले भने, “भूठान चलचित्रमा काम गरेपछि त्यस्तै किसिमको भूमिका मात्र गर्छ कि भन्ने पनि रहेछ, तर म सबै किसिमको पात्रमा काम गर्न चाहन्छु । ‘हरिबहादुरको जुत्ता’ मा मलाई रमाइलो पात्र निर्वाह गर्दै गरेको देख्न सक्नुहुनेछ ।”
अभिनेता आचार्यले नै पटकथा तथा संवाद लेखेको चलचित्रको ‘कन्सेप्ट’ का विषयमा चर्चा भएपछि चलचित्रको स्वरूप लिएको रहेछ । “मैले सरोज भाइ (गायक सरोज ओली)लाई चलचित्रको विषय सुनाएको थिएँ, उहाँ नै निर्माणमा अग्रसर भएपछि चलचित्र तयार भएको छ । यसले पर्दामा देखिने पात्रसँग दर्शकलाई जोड्छ भन्नेमा विश्वत छु”, उनले भने ।
अभिनेता आचार्यले उक्त चलचित्र आउँदो दसैँलाई लक्षित गर्दै असोज १३ गते प्रदर्शन हुने जानकारी दिए ।
निर्देशक दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको यस चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गरेका छन् ।
गायकद्वय सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको चलचित्रमा कृष्णबहादुर थापाले छायाङ्कन, नकुल खड्काले सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले सङगीत सिर्जना गरेका छन् ।
रत्ननगर । रत्ननगर-५ मा रहेको जनकौली मध्यवर्ती सामुदायिक वनमा पर्यटन प्रवर्द्धनका लागि जीप सफारी सुरू भएको छ। बुधबार वनको कार्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा बागमती प्रदेशका पूर्वअर्थमन्त्री जगन्नाथ थपलियाले जीप सफारीको उद्घाटन गरे । उद्घाटनकै दिन बागमती प्रदेशका कृषिमन्त्री मधुसूदन पौडेलले जीप सफारीमार्फत वनको अवलोकन गरे ।
उद्घाटन समारोहमा बागमती प्रदेशका पूर्ववनमन्त्री कृष्णप्रसाद सिलवाल, रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक, चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्त, रत्ननगर-५ का वडाध्यक्ष बालकृष्ण चापागाईंसहित विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति थियो ।
सो अवसरमा वनका अध्यक्ष जोगेन्द्र महतोले सौराहानजिकै रहेको यो वन स्थापना भएको २२ वर्षपछि जीप सफारी सुरू गरिएको बताए । उनले पर्यापर्यटनमार्फत स्थानीय समुदायको जीवनस्तर उकास्ने उद्देश्य रहेको उल्लेख गर्दै सौराहा भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई जीप सफारीमार्फत वन्यजन्तु अवलोकन गराउने योजना रहेको बताए । जीप सफारीबाट पर्यटकले एकसिंगे गैंडा, बाघ, जंगली हात्ती, भालु, चितुवा, चित्तल, जरायोजस्ता दुर्लभ वन्यजन्तु अवलोकन गर्न सक्नेछन् ।
१०६ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वन २०६० सालमा स्थापना भएको हो । करिब दुई हजार उपभोक्ता रहेको वनमा पर्यापर्यटन विकासका लागि २०६६ सालमा डुङ्गा सञ्चालन सुरू गरिएको सचिव नारायण चौधरीले जानकारी दिए । जीप सफारीका लागि व्यवस्थित रुट तयार गरिएको छ । साढे ४ किलोमिटरको दूरीमा डेढदेखि दुई घन्टासम्म पर्यटकलाई सफारी गराइनेछ। प्रारम्भिक चरणमा बिहान-बेलुका ७-७ गरी दैनिक १४ वटा जीप सञ्चालन हुने चौधरीले बताए ।
उद्घाटन समारोहका प्रमुखअतिथि पूर्वअर्थमन्त्री थपलियाले मध्यवर्ती क्षेत्रमा सुरक्षा र सन्तुलन कायम राख्दै जीप सफारीलाई अवसरको रूपमा लिई उचित व्यवस्थापनका साथ सञ्चालन गर्नुपर्ने बताए ।
उनले सौराहालाई बाढीको जोखिमबाट जोगाउन लोथरदेखि सौराहासम्म बलियो ड्याम निर्माणको काम सुरू भएको जानकारी दिए । ३५ वर्षअघि बनेको ड्याम जीर्ण भएको उल्लेख गर्दै उनले आफू मन्त्री हुँदा १८ करोड रुपैयाँ विनियोजन गरेर पुनर्निर्माणको काम सुरू गरेको बताए ।





