२०८२ चैत्र १३ शुक्रबार
२०८२ चैत्र १३ शुक्रबार
काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत शनिबार नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो ।
 
जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२/१२ रन बनाए भने रोविन उथप्पाले पाँच तथा दिनेश कार्तिक र सहबाज नदिमले समान सात÷सात रन बनाए ।
 
नेपालका लागि रसिद खानले तीन विकेट लिए भने रुपेश सिंह र बसिर अहमदले समान दुईरदुई विकेट लिए ।
 
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छओभरमा कुनै पनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । नेपालका लागि रसिद खानले ५५ रनको योगदान दिए भने सन्दीप जोराले ४७ र लोकश बमले ३१ रन बनाए ।
 
यसअघि आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट र श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो । साथै, हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

भरतपुर । भरतपुर–१ स्थित नारायणी नदीकिनारमा चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा जारी महोत्सव परिसरमा महिला र पुरुष दुवैतर्फका फाइनल खेल सम्पन्न भएको छ ।

प्रतियोगितामा पुरुषतर्फको उपाधि मञ्जिल-मनीषको टिम भरतपुर–१८ ले जितेको छ । सन्दीप र अनिषको टिमको भलिबल ट्रेनिङ सेन्टरलाई हराउँदै उपाधि जितेको हो । फाइनल खेल मञ्जिल र मनीषको टिमले २–१ को सेटमा जित्यो ।

उता महिलातर्फको उपाधि जानकी स्कुलका आशिका र स्वीकृतिको टिमले जितेको छ । आशिका र स्वीकृतिको टिमले फाइनलमा जानकी स्कुलकै नितिशा र सीमाको टिमलाई पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

आशिका र स्वीकृतिको टिमले फाइनलमा नितिशा र सीमाको जोडीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । विजेताहरुलाई मङ्सिर २ गते समापनको दिन पुरस्कार वितरण गरिने आयोजक चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।

समितिका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न भलिबलको समापन कार्यक्रमको प्रमुखअतिथिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी गोविन्द पुरी रहेका थिए ।

महोत्सवमा भलिबल र कराँतेसँगै तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, बुद्धिचाललगायतका खेलहरु पनि हुनेछन् । यस्तै, नेपाली खेलकुदमा योगदान गर्ने विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरानमा सम्मान गरिने आयोजकले जनाएको छ ।

भरतपुर । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ आरले भरतपुर–३, चितवनमा एक समारोहबीच प्रशासकीय भवन शिलान्यास गरेको छ । लायन्स अन्तर्राष्ट्रियका पूर्वनिर्देशक बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता एवम् एलसिआइएफ एरिया लिडर राजन लम्सालको विशिष्ट आतिथ्यतामा शिलान्यास समारोह सम्पन्न भएको हो ।

नेपालमा १५ वटा लायन्सका डिस्ट्रिक क्रियाशील छन् । जसमध्ये आफ्नै प्रशासकीय भवनको शिलान्यास गर्ने डिस्ट्रिक ३२५ आर पहिलो हो । हाल यस डिस्ट्रिकमा १८७ वटा लायन्स क्लबका चार हजार ४१० जना लायन सदस्य आवद्ध छन् ।

भवन निर्माण समितिका संयोजक तथा पूर्वडिस्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेले प्रशासकीय भवन करिब दुई करोड रुपैयाँको लागतमा १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । सो कार्यका लागि हालसम्म करिब ४५ लाख रुपैयाँ सङ्कलन भइसकेको र बाँकी रकम पनि चाँडै सङ्कलन हुने विश्वास व्यक्त गरे । प्रतिलायन सदस्य तीन हजार रुपैयाँका दरले सहयोग सङ्कलन गर्ने निर्णय गरिसकेको जानकारी गराउँदै लागत रकम उठाउने लक्ष्य पूरा गर्न कुनै समस्या नरहेको उनको भनाइ थियो ।

इन्जिनियर लायन उमेश ढकालका अनुसार भवनको पहिलो तला कार्यालय प्रयोजनको रुपमा रहनेछ भने दोस्रो तलामा दुईवटा हल रहनेगरी नक्सा तयार गरिएको छ । भवन एक कट्ठा (२० धुर) जग्गामा निर्माण हुनेछ, जसमा १० धुर जग्गा लायन सदस्यहरूले खरिद गरेका हुन् भने बाँकी १० धुर जग्गा लायन बालगोपाल चुके परिवारले प्रदान गरेको हो ।

संस्थागत सुदृढीकरणमा कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएका उक्त भवन निर्माणमा आफूहरुको पनि सहभागिताका लागि प्रमुखअतिथि बुर्लाकोटी र विशिष्टअतिथि लम्सालले भवन निर्माणका लागि जनही ५५ हजार ५५५ रुपैयाँ प्रदान गरेका थिए ।

भवन शिलान्यास कार्यक्रममा पूर्वडिस्ट्रिक गर्भनरहरू, लायन तथा लियो सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम डिस्ट्रिक गर्भनर लायन नवराज सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।

भरतपुर । नारायणी नदीकिनार नारायणगढमा जारी खेलकुद तथा बृहत् व्यापार महोत्सवमा रकहेड्स ब्यान्ड र सृजना खत्री हाउडे मायाले दर्शक झुमाएका छन् । शुक्रबार साँझ सम्पन्न सांस्कृतिक कार्यक्रममा रकहेड्स ब्यान्ड र सृजना खत्रीले प्रस्तुति दिएका थिए ।

यस्तै, युवा पुस्तामाझ निकै लोकप्रिय द रकहेड्स ब्यान्डको ‘भावना’, ‘हजार जन्म’, ‘सहारा’लगायतका चर्चित गीत गाउँदा दर्शक झुमेका थिए । यस्तै, ‘नौटङ्की माया’, ‘डबल माया’लगायतका चर्चित गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन् । युवा पुस्तामाझ निकै लोकप्रिय द रकहेड्स ब्यान्ड आउने भएपछि दर्शकहरुको भीड लागेको थियो ।

लन्डन ब्रिजबाट भित्र प्रवेश गरेपछि दर्शकहरुले चितवनमा नै पहिलोपटक महोत्सव परिसरभित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । यसका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने महोत्सव संयोजक विकल क्षेत्रीले बताए ।

महोत्सवमा भलिबल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु खेलाइने छ ।

कालिका । थारछेन न्यूङने ल्हखाङ्ग गुम्बाको २१औँ साधारण सभा गुम्बाका अध्यक्ष धनबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा वुद्धज्योति अनिपा संघका दिदीबहिनीहरू, धर्मप्रेमी, शान्तिप्रेमी तथा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा गुम्बाका प्रमुख ढवाङ्ग लामा पेमा गुरुसहित अन्य लामाहरुको उपस्थिति रहेको थियो ।

सभामा प्रमुखअतिथि सन्तवीर स्याङदान रहेका थिए भने विशिष्टअतिथिमा लामा पेमा गुरु, नेपाल तामाङ घेदुङ कालिका नगर कार्यसमितिका अध्यक्ष पवित्रा लामा र जग्गादाता मिश्रीमाया लामा उपस्थित थिए ।

यस्तै, अतिथिहरूमा अर्जुन पाख्रिन, सुशीला मोक्तान, लालबहादुर ख्युल, निवर्तमान अध्यक्ष घन लामा, लाक्पा स्याङ्बो, दामछिक लामा, मर्मिन लामा, माणिक लामा, अरमित लामा, रुपेन्द्र स्याङ्दान, पत्रकार तिलक थापामगर, गडुवा खानेपानी संस्थाका अध्यक्ष रवि स्याङ्तानलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वड़ाध्यक्ष स्याङ्दानले गुम्बालाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै गुम्बाको विकास, संरक्षण र धार्मिक गतिविधिहरूको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

संस्थाका सचिव लेखनसिं स्याङ्तानले आयव्यय प्रस्तुत गरेका थिए भने जग्गादाता मिश्रीमाया लामालगायत २० हजार रुपैयाँभन्दा माथि सहयोग गर्नेहरुलाई दाताहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

संस्थाका महासचिव कमला तामाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन निवर्तमान सचिव रुपन स्याङ्तानले गरेका थिए । गुम्बाको धार्मिक, सांस्कृतिक तथा सामुदायिक एकता सुदृढ पार्न सहयोग पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका थिए ।

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–५, मगर टोलस्थित भित्री सडकखण्डमा जङ्गल सफारी गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । पर्यटकलाई जङ्गल सफारीका लागि जाँदै गरेको ना४च ९५७७ नम्बरको सफारी गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा भरतपुर–११ बस्ने १८ वर्षीय प्रशान्त अधिकारी, ४० वर्षीया मान्ता अधिकारी, १८ वर्षीय सुमित बराल, १९ वर्षीय प्रवेश अधिकारी, काठमाडौँ–१० बस्ने ३५ वर्षीय महेन्द्र थिङ, ३२ वर्षीया रेनु गुरूङ, खैरहनी–१३ बस्ने ३० वर्षीय उज्ज्वल कार्की, इजरायल नागरिक २३ वर्षीया स्पीग्लर रोमी, २२ वर्षीया अख्यन्जी रक्हेल गार्डेन, २४ वर्षीय एलोन टमोर र २२ वर्षीया वेन ओचान गेया घाइते भएका हुन् ।

घाइतेहरुको नयाँ मेडिकल कलेज (सिएमसी) भरतपुरमा उपचारपश्चात् डिस्चार्च भएका छन् । सफारी गाडीसहित चालक रत्ननगर–७ बस्ने २३ वर्षीय दीपक पौडेल प्रहरी चौकी बछौलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।