२०८३ भाद्र ४ बिहीबार
२०८३ भाद्र ४ बिहीबार

भरतपुर । अभिनेता दयाहाङ राईका लागि ‘पेन्सन पट्टा’ एउटा फिल्म मात्र होइन, नेपाली समाजको एउटा परिचित कथा हो । भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मबारे पोखरामा आयोजित पत्रकार सम्मेलनमा राईले ‘पेन्सन पट्टा’ले दर्शकलाई आफ्नै जीवन, परिवार र समाजसँग जोड्ने बताएका छन् ।

फिल्ममा दयाहाङले निर्वाह गरेको पात्रको कथा लाहुरे परिवारसँग जोडिएको छ । तर, आफ्नो वास्तविक जीवनमा भने लाहुरे परिवारसँग कुनै पारिवारिक सम्बन्ध नरहेको उनले स्पष्ट पारे । यद्यपि, नेपाली समाजमा लाहुरे परिवारका कथा आफूले नजिकबाट देखेको उनको भनाइ छ । ‘लाहुरेसँग मेरो पारिवारिक सम्बन्ध छैन । तर, छिमेक र नेपाली समाजमा लाउरे परिवारका कथा धेरै छन्’, दयाहाङले भने ।

उनका अनुसार ३०–४० वर्षअघिको नेपाली समाजमा ‘पेन्सन पट्टा’को आफ्नै महत्त्व थियो । भूतपूर्व गोर्खालीहरूले देश र समाजका लागि गरेको योगदानसँग जोडिएको पेन्सन र त्यसले परिवारमा पार्ने प्रभाव फिल्मको कथाको महत्त्वपूर्ण पाटो बनेको छ । तर, ‘पेन्सन पट्टा’को कथा पेन्सनमै सीमित छैन । हराएको पेन्सन पट्टा खोज्ने घटनासँगै फिल्मले प्रेम, भावना, पारिवारिक सम्बन्ध र सामाजिक संरचनाका तहहरूलाई उधिनेको दयाहाङ बताउँछन् ।

‘पेन्सन पट्टा हरेक समाजको कथा हो । यसले इमोसन, प्रेम र समाजको स्ट्रक्चरलाई बोल्छ’, उनले भने, ‘हराएको पेन्सन पट्टा खोज्नु र त्यससँगै समाजको परिवेशलाई बोल्नु चलचित्रको विशेषता हो ।’

दयाहाङका लागि फिल्ममा काम गर्नु नेपाली समाजलाई अर्को कोणबाट बुझ्ने अवसर पनि बनेको छ । चरित्रमार्फत समाजका विभिन्न मनोविज्ञान बुझ्न पाएको बताउँदै उनले फिल्मलाई सरल तर गहिरो कथाका रूपमा व्याख्या गरे । ‘सिनेमाको चरित्रमार्फत आम नेपाली समाजलाई थोरै भए पनि बुझ्न पाएको छु । पेन्सन पट्टा निकै सरलरूपमा प्रस्तुत गरिएको कथा हो । हरेक वर्गका मानिसले बुझ्न सक्छन् र आफ्नो घरको व्यथा मान्न सक्छन्’, उनले भने ।

फिल्मका लेखक तथा निर्देशक माओत्से गुरूङले आमाको पेन्सन नपाउँदा नेपाली समाजका धेरै परिवारले भोगिरहेको समस्यालाई कथाको आधार बनाएका छन् । गोर्खालीको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहजरूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने पारिवारिक समस्या, सम्बन्धको उतारचढाव र सामाजिक परिवेश फिल्ममा प्रस्तुत गरिएको छ ।

‘आमाको पेन्सन नमिल्दा समाजका धेरै परिवारमा समस्या छ । त्यसलाई चलचित्रमार्फत प्रस्तुत गर्नुपर्छ जस्तो लाग्यो र कथा बन्यो’, गुरूङले भने, ‘यो आम समुदायको कथा हो । पेन्सन पट्टा तपाईं–हाम्रै समाजको विषयवस्तु हो ।’

फिल्ममा काम गरेपछि लेखनतर्फ आफ्नो रुचि झन् रहेको दयाहाङले स्वीकारे । तर, तत्काल निर्देशनमा जाने आँट भने नआएको उनले बताए । ‘लेख्न मन पर्छ, तर आँट्न सकिरहेको छैन । अहिलेलाई काम नै गरौँ भन्ने लाग्छ’, उनले भने ।

माओत्से गुरूङको लेखन तथा निर्देशनमा बनेको ‘पेन्सन पट्टा’मा दयाहाङसँगै गौमाया गुरूङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, स्वर्गीय सुनिल थापा, माया गुरूङ, विश्वास गुरूङ, सोल गुरूङ, मनिका गुरूङ, डिभी गुरूङ, पञ्चसुब्बा गुरूङ (दिलु) लगायतका कलाकारको अभिनय छ । पोखराको ताङतिङ र आसपासका क्षेत्रमा छायाङ्कन गरिएको फिल्म भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।

चितवन । चितवनको खैरहनी नगरपालिका क्षेत्रमा बर्खे धानमा पातको फेद डढुवा (सिथ ब्लाइट) रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन् ।

नगरपालिकाका कृषि अधिकृत सिर्जना श्रेष्ठका अनुसार नगरपालिकाका केही क्षेत्रमा धानको पातको फेदमा फेद डढुवा रोगका प्रारम्भिक लक्षण देखिन थालेका छन् । अहिले रोग धेरै फैलिएको अवस्था नरहे पनि फाट्टफुट्ट रूपमा देखिन थालेकाले किसानलाई बेलैमा सचेत भएर धानबालीको नियमित निरीक्षण गर्न आग्रह गरिएको उनले बताइन् ।

‘अहिले फेद डढुवा धेरै फैलिएको अवस्था छैन । केही ठाउँमा छिटफुट रूपमा देखिएको जानकारी आएको छ । हामीले खेतमै पुगेर यसको अवस्थाबारे रिपोर्टिङ गरिरहेका छौँ’, कृषि अधिकृत श्रेष्ठले भनिन् । फेद डढुवा राइजोक्टोनिया सोलानी नामक ढुसीका कारण लाग्ने गर्दछ । रोग लागेमा सुरुमा पातको फेदमा अन्डाकार खैरो–हरियो थोप्ला देखिने र प्रकोप बढ्दै गएपछि ती थोप्ला फैलिँदै गई सिङ्गो बोट नै डढेको जस्तो देखिने उनले जानकारी दिइन् ।

उनका अनुसार रोग माटोबाट समेत सर्ने भएकाले धान रोप्नुअघि नगरपालिकाबाट अनुदानमा उपलब्ध हुने जैविक विषादी प्रयोग गरी माटो उपचार गर्न सकिन्छ । बीउ उपचार गर्दा कार्बेन्डाजिम दुई ग्राम प्रतिकिलो बीउका दरले प्रयोग गर्न उनले सुझाव दिइन् ।

धान बाक्लो रोप्न नहुने, युरिया मलमात्र बढी प्रयोग नगरी सन्तुलितरूपमा मलखाद प्रयोग गर्नुपर्ने उनको भनाइ छ । सुरूवाती अवस्थामै रोगको पहिचान गरी व्यवस्थापन गर्न सके प्रकोप फैलिनबाट रोक्न सकिने उनले बताइन् ।

रोगको जोखिम बढेमा एजोक्सिस्ट्रोबिन १८.२ प्रतिशत र डाइफेनोकोनाजोल ११.४ प्रतिशतको मिश्रण एक मिलीलिटर प्रतिलिटर पानीका दरले वा भ्यालिडामाइसिन तीन मिलीलिटर प्रतिलिटर पानीका दरले मिसाएर छर्कन सकिने कृषि शाखाले जनाएको छ ।

खैरहनीमा बर्खे धानको खेती राम्रो हुने भएकाले अहिले धानमा बाला निस्कने समय सुरू भएको छ । फेद डढुवा रोग हरेक वर्ष धानबालीमा देखिने गरेकाले यस वर्ष पनि समयमै सावधानी अपनाउन किसानलाई आग्रह गरिएको हो ।

यसैगरी, धानबालीमा मरुवा (ब्लास्ट) रोगको जोखिमसमेत रहेकाले किसानलाई फेद डढुवा र मरुवा दुवै रोगको नियमित निगरानी गर्न कृषि शाखाले आग्रह गरेको छ । यस वर्ष चैते धानमा मरुवा रोगका कारण क्षति भएकाले बर्खे धानमा समयमै सावधानी अपनाउनुपर्ने कृषि अधिकृत श्रेष्ठले बताइन् ।

खैरहनी नगरपालिकामा बर्खे धान तीन हजार ९३९ हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएको छ । धानखेतीका लागि अनुकूल क्षेत्र मानिने खैरहनीमा अहिले धानमा बाला निस्कने समय भएकाले रोगको जोखिमसमेत बढ्ने गर्दछ ।

सौराहा । रत्ननगर–६, बछौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन् । स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने उद्देश्यले सौराहामा आउने विदेशी पाहुनालाई स्थानीय उत्पादन चखाउने अभिःप्रायले दुग्ध विविधिकरण पसल सञ्चालन गरिएको हो ।

रत्ननगर नगरपालिका–६ बछौलीस्थित नारी चेतना मध्यवर्ती महिला उद्यमी समूहमा आबद्ध ५० जना महिलाले स्थानीय दूधको विविधिकरण डेरी पसल सञ्चालन गरेका छन् । स्थानीय कृषि तथा पशुपालनलाई प्रोत्साहन गर्दै महिलालाई रोजगारी र उद्यमशीलतामा जोड्ने उद्देश्यले पसल सञ्चालन गरिएको समूहकी अध्यक्ष सुष्मा पौडेलले जानकारी दिइन् ।

पसलमा दूध, दही, घिउ, पनिर, चिज, बटर, आइसक्रिम, खुवा, चिया र कफीलगायतका परिकार बिक्रीका लागि राखिएको छ । हाल मही, दूध, दही, घिउ, पनिर र खुवालगायतका दुग्धजन्य पदार्थ उत्पादन भइरहेको छ ।

‘मैले चार–पाँच वर्षदेखि डेरी सञ्चालन गर्दै आएकी थिएँ । त्यसबाट राम्रो आम्दानी भयो । त्यसपछि यहाँका अन्य महिला दिदीबहिनीलाई रोजगारी र उद्यममा जोड्ने उद्देश्यले सामूहिक पसल सञ्चालनमा ल्याएका हौँ’, अध्यक्ष पौडेलले भनिन् ।

उद्योग स्थापनाका लागि प्रदेश सरकारबाट रु १० लाख अनुदान प्राप्त भएको छ । बाँकी रकम ५० जना सेयर सदस्यबाट प्रतिव्यक्ति रु २५ हजारका दरले रु १२ लाख ५० हजार सङ्कलन गरी लगानी जुटाइ उद्योग सञ्चालन गरिएको हो ।

हाल दैनिक करिब २०० लिटर दूध सङ्कलन गरी विभिन्न दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री हुँदै आएको छ । मागअनुसार उत्पादन क्षमता विस्तार गर्ने योजना रहेको उनले बताइन् ।

समूहमा आबद्ध केही महिलाले आफ्नै घरमा पशुपालन गर्दै आएका छन् । उनीहरूबाट दूध सङ्कलन गरी उद्योगमा प्रयोग भइरहेको र आगामी दिनमा थप महिलालाई पशुपालनमा प्रोत्साहित गर्दै समूहकै सदस्यबाट आवश्यक दूध आपूर्ति गर्ने योजना छ ।

सौराहा पर्यटकीय क्षेत्र हो । यहाँ बजारको अभाव छैन । स्थानीय महिलालाई रोजगारी दिने र स्थानीय उत्पादन पर्यटकलाई चखाउने मुख्य उद्देश्यले डेरी उद्योग सञ्चालन गरिएको बताइएको छ ।

भरतपुर । चितवनका प्राडा ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त भएका छन् ।

भरतपुर अस्पतालका पूर्वअध्यक्षसमेत रहेका पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

भरतपुर अस्पतालको अध्यक्ष भएर उनले करिब चार महिना काम गरेका थिए । उनी रत्ननगरका स्थायी बासिन्दा हुन् ।

वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ डा पौडेलले नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा काम पनि गरेका थिए। यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका थिए ।

डा पौडेलले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गोल्ड मेडलसहित उत्तीर्ण गरेका हुन् । उनले सोही संस्थानबाट एमबिबिएस अध्ययनसमेत पूरा गरेका छन् ।

डा पौडेलले नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसकेका छन् ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।