चितवन । चितवनमा कृषि वैज्ञानिकसहित प्राविधिकबीच समन्वय गोष्ठी सञ्चालन गरिएको छ । कृषि विकास कार्यालय चितवनले कृषि बालीमा लाग्ने रोगको पहिचान र समाधान गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरेको हो ।
संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कृषि अधिकृत, नार्कमा कार्यरत कृषि वैज्ञानिक र अध्ययन संस्थानमा कार्यरत प्राध्यापकहरुको सहभागितामा गोष्ठीको आयोजना गरिएको कृषि कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिए ।
कार्यक्रममा चितवनका सातवटा पालिकाका कृषि शाखाका प्रमुख तथा प्रतिनिधिले आफ्नो पालिकाबाट भएका कामका साथै संक्षिप्त प्रगति, नवीन कार्य र फिल्डस्तरमा देखा परेका समस्या र चुनौतीका विषयमा प्रस्तुतीकरण दिएका थिए ।
उनीहरुले अहिले चितवनमा धान बालीमा देखिएको समस्या र बिषादी प्रयोगका बारेमा आफ्नो धारणा राखेका थिए । साथै संघ, प्रदेश र पालिकाबाट हुने कार्यक्रमहरुमा दोहोरोपना हटाउन समन्वयात्मक भूमिका खेल्नुपर्ने उनीहरुको भनाइ थियो ।
यस्तै, राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्रकी वैज्ञानिक डा. सरस्वती न्यौपानेले वर्षे धानबालीमा देखा परेका विभिन्न किसिमका रोग तथा कीराहरुको प्रकोप, सूक्ष्म खाद्यतत्त्वको कमी, खाद्यतत्त्वको अधिक न्यून प्रयोगलगायतका समस्याहरुको पहिचान एवं एकीकृत व्यवस्थापन विधि र वैज्ञानिक शुक्रबहादुर गुरूङले नार्कबाट विकसित भएका नवीनतम कृषि प्रविधि तथा नयाँ जातहरुसम्बन्धी प्रविधि हस्तान्तरण तथा वरिष्ठ बाली संरक्षण अधिकृत देवराज अधिकारीले लहरे तथा बालीमा कीराको व्यवस्थापन विधिका विषयमा प्रशिक्षण दिएका थिए ।
कृषि अर्थविज्ञ निर्मल पौडेलले सहजीकरण गरेको कार्यक्रममा बाली संरक्षण अधिकृत गीता केसीले चितवनमा धान रोगमा देखिएका समस्याका विषयमा आफ्नो प्रस्तुतीकरण दिएको थियो । कार्यक्रम कार्यालय प्रमुख झलकनाथ कँडेलको अध्यक्षतामा सञ्चालन भएको थियो ।












