चितवन । नेपाल नेत्रज्योति संघ चितवनको २६औँ जिल्ला सभा चितवनका सभापति जयराम श्रेष्ठको अध्यक्षतामा एवं नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश सभापति ऋषिराम पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ चितवनका सचिव केशवप्रसाद अधिकारीले सञ्चालन गरेको कार्यक्रम विशेषअतिथि पौडेलले दीप प्रज्वलन गरी उद्घाटन गरेका हुन् । उपसभापति तेजेन्द्रबहादुर खड्काले अस्पताल र कार्यक्रमको बारेमा जानकारी दिँदै स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै विशेषअतिथि पौडेलले नेपाल नेत्रज्योति संघ नितान्त सामाजिक संस्था भएको हुँदा सामाजिक भावनाले काम गर्न आवश्यक रहेको बताए । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल एक उदाहारणीय र सफल कार्यक्रम भएको उनको भनाइ थियो ।
भरतपुर आँखा अस्पतालले मुलुका मध्य भागमा पर्ने तीनवटा प्रदेशमा आँखाको स्वास्थ्यसेवा दिँदै आएको बताउँदै आगामी दिनमा अझ सेवा विस्तारको आवश्यकता औँल्याए । त्यसको लागि नेपाल नेत्रज्योति संघ केन्द्रीय समिति र बागमती प्रदेश समिति आवश्यक सहयोग र सहजीकरणको लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी कार्यक्रमका सम्मानित व्यक्तित्व तथा विशेषअतिथि ईश्वरपुर नगरपालिका सर्लाहीका प्रमुख मनोज आचार्यले ईश्वरपुर आँखा उपचार केन्द्रमा डाक्टरको सेवा, आवास र पिउने पानीको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे । ईश्वरपुर आँखा उपचार केन्द्रले हालसम्म २५ हजारभन्दा बढी बिरामीलाई सेवा दिएको उनले जानकारी दिए ।
कार्यक्रममा भरतपुर आँखा अस्पतालको प्रगति प्रतिवेदनसमेत लोकार्पण गरिएको थियो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ चितवनका सचिव केशवप्रसाद अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सिद्धार्थलाल चुकेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ चितवनका महेन्द्रलाल प्रधान, पूर्वसभापति वामदेव खनाल, भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनाल, नेपाल नेत्रज्योति संघ नवलपुरका सभापति होमनाथ जैसी, नेपाल नेत्रज्योति संघ चितवनका आजीवन सदस्य भोजराज कौडेल, तोयानाथ भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।












