
भरतपुर । चितवनमा तीन वटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ आँपटारीमा आइतबार बिहान तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार नारायणगढबाट रामनगरतर्फ गइरहेको मोटरसाइकलविपरीत दिशाबाट आएका ट्रक र कार एकापसमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्टको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका विष्टको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न सवारी चालक र सवारीसाधन नियन्त्रणमा लिएको छ ।





