चितवन । विभिन्न समयमा मानव बस्तीमा प्रवेश गरी मानिसमाथि आक्रमण गर्ने तथा स्थानीयवासीमा त्रास फैलाउने पाँच वटा समस्याग्रस्त बाघ अहिले चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएका छन् । नियन्त्रणमा लिएर विगत पाँचदेखि छ वर्षसम्म खोरमै राखिएका ती बाघको पालनपोषण गर्न बजेट अभाव भएको निकुञ्ज प्रशासनले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार कसरास्थित खोरमा दुई वटा, देवनगरमा एक वटा र पूर्वी क्षेत्र सौराहामा एक वटा बाघ राखिएको छ । मानव बस्तीमा पसेर आक्रमण गर्ने, पशु चौपायामा क्षति पु¥याउने तथा स्थानीयमा डर–त्रास फैलाउने गतिविधि गरेपछि ती बाघलाई नियन्त्रणमा लिइएको हो ।
खोरमा राखिएका बाघलाई नियमित आहाराको व्यवस्था गर्न नै निकुञ्जलाई कठिन भइरहेको सूचना अधिकारी थापामगरले बताए । उनका अनुसार एउटा बाघलाई हरेक दुई दिनमा करिब सात किलो राँगाको मासु खुवाउने गरिएको छ । एकपटकको आहार व्यवस्थापनमै करिब चार हजार रुपैयाँ खर्च हुने गरेको निकुञ्जले जनाएको छ ।
निकुञ्जले चालु आर्थिक वर्षका लागि समस्याग्रस्त बाघको पालनपोषणतर्फ जम्मा सात लाख ६२ हजार रुपैयाँ मात्रै बजेट पाएको जनाएको छ । उक्त बजेट पर्याप्त नभएकाले अपुग खर्च राष्ट्रिय प्रकृति संरक्षण कोष तथा संरक्षण क्षेत्रमा क्रियाशील अन्य सहयोगी संस्थामार्फत व्यवस्थापन हुँदै आएको सूचना अधिकारी थापामगरले जानकारी दिए ।
समस्याग्रस्त बाघलाई पुनः जङ्गलमा छाड्न नसकिने अवस्था भएकाले उनीहरूको दीर्घकालीन व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको निकुञ्ज प्रशासनको भनाइ छ । मानव सुरक्षा र वन्यजन्तु संरक्षणबीच सन्तुलन कायम गर्न समस्याग्रस्त बाघको उचित व्यवस्थापनका लागि पर्याप्त बजेट आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।











