२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

बिमा बोर्डबाट भरतपुर अस्पताललाई ९२ करोड रुपैयाँ बढी भुक्तानी

चितवन । स्वास्थ्य बिमा बोर्डले भरतपुर अस्पताललाई उपचार सेवावापत ९२ करोड ३६ लाख ४२ हजार ९४७ रुपैयाँ भुक्तानी गरेको छ। अस्पतालले बिमामार्फत प्रदान गरेको सेवाबापत अझै करिब ३६ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको जनाएको छ।

अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेलका अनुसार अस्पतालले २०७४ भदौदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालसम्म बिमा कार्यक्रममार्फत अस्पतालले २ अर्ब ४७ करोड ४८ लाख रुपैयाँभन्दा बढी प्राप्त गरिसकेको छ।

गत आर्थिक वर्षमा अस्पतालले बिमामार्फत ४ लाख ४१ हजार पटक सेवा दिएको थियो भने चालु आर्थिक वर्षमा यो संख्या ५ लाख नाघेको अस्पतालले जनाएको छ।

चितवनसहित मकवानपुर, बारा, पर्सा, नवलपरासी, गोरखा, तनहुँ, लमजुङ, धादिङलगायत २२ भन्दा बढी जिल्लाका बिरामीले भरतपुर अस्पतालबाट स्वास्थ्य बिमा सेवा लिने गरेका छन्।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले बिमा सेवाग्राहीलाई उच्च प्राथमिकता दिँदै प्रतीक्षा समय घटाउने अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार भिडियो एक्स–रे सेवाको प्रतीक्षा सूची हटाइएको छ भने सिटी स्क्यान मेसिन मर्मत नहुँदासम्म निजी अस्पतालसँग सहकार्य गरी बिमाको दररेटमै सेवा उपलब्ध गराइएको छ।

सेवा प्रवाहलाई थप सहज बनाउन अस्पतालले अनलाइन टिकट प्रणाली लागू गरेको छ। हाल दैनिक करिब २०० जनाले अनलाइनमार्फत टिकट लिने गरेका छन् भने यो संख्या ४०० सम्म पुग्ने अपेक्षा गरिएको छ। नगद काउन्टरको संख्या पनि ८ बाट बढाएर १० पुर्‍याइएको छ।

डा. बगालेका अनुसार अस्पतालमा आउने बिरामीलाई लामो समय लाइनमा बस्न नपरोस् भन्ने उद्देश्यले सेवा व्यवस्थापनमा सुधार गरिएको हो। बिमा बोर्डले निर्धारण गरेको केही औषधि र सेवाको शुल्क वास्तविक खरिद मूल्यभन्दा कम भए पनि बिरामीलाई निरन्तर सेवा प्रदान गरिएको उनले बताए।

नयाँ बिमा शुल्क संरचना लागू भएपछि बहिरङ्ग सेवामा २५ हजार रुपैयाँसम्मको उपचार सुविधा सहज बनेको र सेवाग्राहीले पहिलेभन्दा बढी औषधि तथा उपचार सेवा प्राप्त गरिरहेको अस्पतालले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।