भरतपुर । भरतपुर इङ्ग्लिस स्कुल्स सोसाइटी (बेस)ले २०८२ को एसइई र बिएलई परीक्षाअन्तर्गतका विद्यालयहरूमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक र विद्यालयहरूलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । शनिबार भरतपुरस्थित कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने बेसअन्तर्गतका ४४ विद्यालयहरूमध्ये उत्कृष्ट विद्यालय, चार जिपिए ल्याउने विद्यार्थी र विषयगत शिक्षकहरूलाई सम्मान गरिएको हो ।
निजी विद्यालयहरूको छाता संगठन प्याब्सन बागमती प्रदेश सल्लाहकार टीकाराम चपाईंको प्रमुख आतिथ्यतामा भएको सहजीकरण कार्यक्रममा अभिभावक संघ भरतपुरका अध्यक्ष भोजराज न्यौपानेले गुणस्तर र स्तरीय शिक्षाका लागि आफूहरूले निजी विद्यालय रोजेको बताए । विद्यालयको गुणस्तर कायम राख्न र समयानुकूल स्तर वृद्धि गर्न विद्यालयले लागू गर्ने नीतिप्रति आफूहरू सधैँ सकारात्मक रहेको बताए । विद्यालयले आवश्यकताअनुसार गर्ने शुल्क वृद्धिप्रति आफूहरूको गुनासो नरहेको उनको भनाइ थियो ।
कार्यक्रममा बागमति प्रदेश प्याब्सन प्रतिनिधि इन्दिरा कार्की, मेट्रो प्याब्सन भरतपुरका अध्यक्ष मीनराज बस्ताकोटी, बेसका सल्लाहकार लेखनाथ खनाल, पूर्वसल्लाहकारद्वय मोहन लामा र इन्द्रेश साह, प्याब्सन चितवनका सचिव दयानिधि अर्याल, प्याब्सन चितवनका उपाध्यक्ष शारदा ढकाल, अङ्कुरम् एकेडेमीका प्रधानाध्यापक सुमन पौडेल, हिसानका केन्द्रीय सदस्य प्रदीप अधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू र एसइई २०८२ मा चार जिपिए ल्याउने पोलार स्टारकी विद्यार्थी दीक्षा अर्याल तथा स्टेप बाइ स्टेप बोर्डिङ स्कुलका सविन सुवेदीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले सहजीकरण कार्यक्रममा गरिएको सम्मान विद्यालयबीच गरिएको प्रतिस्पर्धा नभई सहकार्य भएको बताए । सम्मान पाउने विद्यार्थी, शिक्षक र विद्यालयले आगामी दिनमा अझै राम्रो गर्न कोसिस गर्नुपर्ने र सम्मानित हुन नसकेका विद्यालयले राम्रो गर्ने प्रयास गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
प्रमुखअतिथि टीकाराम चपाईले शिक्षकमा हुनुपर्ने महत्त्वपूर्ण गुण भनेको अरूको सफलतामा पनि खुसी हुन सक्ने भावना रहेको बताए । कार्यक्रममा सम्मानित हुन नसके पनि उपस्थित भई सहभागिता जनाएका विद्यालयका प्रतिनिधिप्रति आभार व्यक्त गर्दै उनले भने, ‘मैले वा मेरो विद्यालयले केही पाएको छैन, त्यसैले कार्यक्रममा किन जाने ?’ भन्ने सोच शिक्षकमा हुनु हुँदैन । यदि यस्तो भावना आयो भने शिक्षकमा हुनुपर्ने कम्तिमा एउटा महत्त्वपूर्ण गुणको अभाव भएको मान्नुपर्छ । हामी शिक्षकहरू अरूको खुसीमा पनि आफ्नै खुसी अनुभूत गर्न सक्ने हुनुपर्छ ।’
उनले यसपटक अनुपस्थित रहेका विद्यालयहरूलाई आगामी दिनमा सम्मान प्राप्त नभए पनि शैक्षिक एकता, सहकार्य र सद्भावका लागि कार्यक्रममा सहभागी हुन आग्रह गरे । साथै, उपस्थित शिक्षक प्रतिनिधिहरूलाई पनि यो सकारात्मक सन्देश आफ्ना विद्यालय र सहकर्मीहरूमाझ पुर्याउन आग्रह गरे ।
कार्यक्रममा २०८२ को एसइई परीक्षामा चार जिपिए ल्याउने वाल्मीकि शिक्षा सदनका अनुभव पौडेल र विप्लव गौतम, पोलार स्टार इङ्ग्लिस स्कुलका दीक्षा अर्याल र सेन्ड्रिका लामिछाने, अर्किड सेकेण्डरी स्कुलका अनुज बस्याल र असिम अधिकारी तथा स्टेप बाइ स्टेप इङ्ग्लिस स्कुलका सविन सुवेदीलाई प्रमाणपत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । यस्तै, एसईई २०८२ मा शतप्रतिशत नतिजा ल्याउने इच्छाकामनास्थित प्रगति पाठशालालाई सम्मानित गरिएको थियो ।
त्यसैगरी, २०८२ को बिएलई परीक्षामा चार जिपिए ल्याउने अरोमा इङ्ग्लिस स्कुलका इशान रानाभाट, वाल्मीकि शिक्षा सदनका अन्वेषा अधिकारी, आयान त्रिपाठी र प्राञ्जली पराजुली, भृकुटी बोर्डिङ स्कुलकी रियाकुमारी गुप्ता तथा प्रगति पाठशाला, कुरिनटारकी स्तुति सिलवाललाई सम्मानित गरिएको थियो । त्यस्तै, बिएलई परीक्षामा शतप्रतिशत नतिजा ल्याउने भरतपुरस्थित अङ्कुरम् एकेडेमी र कुरिनटारस्थित प्रगति पाठशालालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा एसइई परीक्षामा उत्कृष्ट औसत कुल अङ्कसहित विद्यार्थी उत्तीर्ण गराउने विषयगत शिक्षकहरूसमेत सम्मानित भएका छन् । जसअनुसार अङ्ग्रेजी विषयमा ३.७९ औसत कुल अङ्कसहित प्रगति पाठशालाका शिक्षक सागर सिलवाल, नेपाली विषयमा औषत ३.२१ औसत कुल अङ्कसहित शिक्षक सुदर्शन कट्टेल, अनिवार्य गणितमा औषत ३.१३ कुल अङ्कसहित अङ्कुरम् एकेडेमीका माधवप्रसाद पोखरेल र टेकनाथ पौडेल, विज्ञान विषयमा औषत ३.४ कुल अङ्कसहित ज्ञानदर्शन इङ्गलिस स्कुलका शिक्षक मनिष घिमिरे सम्मानपत्र र नगद पुरस्कारसहित सम्मानित भए ।
त्यसैगरी, सामाजिक अध्ययन विषयमा औसत कुल अङ्क ३.०६ सहित वाल्मीकि शिक्षा सदनका खिमप्रसाद काफ्ले र सुवास रेग्मी, अतिरिक्त गणित विषयमा औसत कुल अङ्क ३.२१ सहित अङ्कुरम् एकेडेमीका विनोद अधिकारी, जनसंख्या विषयमा कुल औसत ३.३९ अङ्कसहित अर्किड इङ्ग्लिस स्कुलका शिक्षक हरिराम रेग्मी अर्थशास्त्र विषयमा कुल औसत ३.१२ अङ्कसहित ग्लोरियस एकेडेमीका शिक्षक सुजन ढकाल, ऐच्छिक दोस्रो लेखा विषयमा कुल औषत ३.०६ अङ्कसहित मनशिक्षा मन्दिरका शिक्षक गौरवराज क्षेत्री र ऐच्छिक दोस्रो कम्प्युटर विषयमा कुल औषत ३.७८ अङ्कसहित अङ्कुरम् एकेडेमीका शिक्षक समीरचन्द्र कोइरालालाई सम्मान गरियो ।
त्यस्तै बिएलई परीक्षामा उत्कृष्ट नतिजा प्रदर्शन गर्ने विभिन्न विद्यालयका शिक्षकहरूलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा अङ्ग्रेजीमा औसत प्राप्ताङ्क ३८.१२ सहित अङ्कुरम् एकेडेमीकी रीताकुमारी उपाध्याय, नेपालीमा औसत प्राप्ताङ्क ३६.८९ सहित अर्किड इङ्ग्लिस स्कुलका विना लम्साल, मञ्जु आचार्य र अञ्जु पौडेल, गणित विषयमा औसत प्राप्ताङ्क ३८.२० सहित अङ्कुरम् एकेडेमीका शिक्षक मेघराज सापकोटा (राजु) सम्मानपत्र र नगद पुरस्कारसहित सम्मानित भए ।
त्यस्तै, अङ्कुरम् एकेडेमीकै शिक्षकहरू विज्ञान विषयमा ३४.७२ सहित दिपेश राई र सन्दीपकुमार चौधरी, सामाजिक अध्ययन विषयमा ३४.८९ अङ्कसहित अर्जुन ओझा तथा स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला विषयमा ४१.७४ औसत अङ्कसहित दिपेश राई तथा स्टेप बाइ स्टेप इङ्ग्लिस स्कुलका शिक्षकहरू रमेश न्यौपाने, अमृता न्यौपाने र अमुल वाग्ले औसत अङ्क ३७.८३ सहित सम्मानित भए ।
चेतप्रसाद सेढाईंको संयोजकत्वमा सम्पन्न कार्यक्रमको अध्यक्षता बेसका अध्यक्ष शिवबहादुर केसीले गरेका थिए भने कार्यक्रममा बेसका उपाध्यक्ष विष्णुबहादुर बस्नेतले स्वागत गरेका थिए । उक्त कार्यक्रममा २० वर्षदेखि लगातार एउटै विद्यालयमा सहप्राचार्य र प्राचार्यको भूमिका निर्वाह गरेका नारायणी पब्लिक स्कुलका प्रधानाध्यापक वेदराज न्यौपानेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनी दीर्घसेवा पुरस्कारबाट सम्मानित भएका हुन् ।
कार्यक्रममा अर्किड स्कुलकी शिक्षिका मीरा आचार्य, प्रगति पाठशालाका शिक्षक सुदर्शन कट्टेल र अभिभावकका तर्फबाट वाल्मीकि शिक्षा सदनकी अभिभावक लक्ष्मी अधिकारीले मन्तव्य राखेका थिए ।













