चितवन । चितवन क्षेत्र नं ३ (क) बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् तथा प्रदेशसभा संसदीय दलका उपनेता गिरबहादुर तामाङ बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकासमन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री किरण थापामगरले बिहीबार तामाङलाई मन्त्री नियुक्त गरेका हुन् । नियुक्तिसँगै तामाङले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री थापामगर नेतृत्वको विस्तारित मन्त्रिपरिषदमा तामाङसहित छ जना नयाँ मन्त्रीले बिहीबार शपथ लिएका छन् । सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजना, भरत केसीलाई भौतिक पूर्वाधार विकास, राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात र राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
ज्ञानबहादुर तामाङले भने विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् । प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाको समर्थन जुटाएर बहुमतको आधार प्रस्तुत गरेपछि प्रदेश प्रमुखले थापामगरलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।












