रत्ननगर । रत्ननगर वडा नं–१३ स्थित जयमंगला दुग्ध उत्पादक सहकारी संस्थाको २९औँ वार्षिक साधारण सभा गरिएको छ ।
वडा नं–१३ का वडाध्यक्ष पोटबहादुर घिमिरे प्रमुखअतिथि रहेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दुईवटा विधामा प्रथम हुँदै पुरस्कार प्राप्त गरेका छन् । बगालेले सबैभन्दा बढी दूध बिक्री र घाँसमा आधारित पशुपालनमा अन्य किसानहरुलाई पछि पार्दै प्रथम भएका हुन् ।
सबैभन्दा बढी दूध बिक्री गर्नेतर्फ बगाले प्रथम हुँदा सविनप्रसाद खनाल द्वितीय र कोपिला श्रेष्ठ तृतीय भएका छन् । घाँसखेतीतर्फ बगाले नै प्रथम हुँदा सविनप्रसाद खनाल द्वितीय र मनु रेग्मी कोइराला तृतीय भएका छन् । गुणस्तरतर्फ गाईको दूधमा रामलाल श्रेष्ठ र भैँसीको दूधमा शान्ता दुवाडी उत्कृष्ट हुँदै पुरस्कृत भएका छन् ।
संस्थाले वृद्ध सेयर सदस्य भुवनी शंकर कँडेल, शंकरबहादुर गिरी, उत्कृष्ट विद्यार्थीहरु जस्विन रानाभाट र विवेक भट्ट, कर्मचारी प्रोत्साहनतर्फ व्यवस्थापक जनकराज पन्त, सहव्यवस्थापक सरोज भट्टराई, कार्यालय सहायकहरु कृष्णकुमार श्रेष्ठ र अर्जुन शर्मा पौडेललाई सम्मान गरिएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष शिवप्रसाद भट्टले वार्षिक प्रतिवेदन र नीति तथा कार्यक्रम, लेखा समिति संयोजक गोविन्दप्रसाद खनालले आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाले दुग्ध किसानको रकमबाट ७ प्रतिशत कट्टा गर्ने र ७ प्रतिशत संस्थाले थपेर हुन आउने १४ प्रतिशत रकमबाट वार्षिकरुपमा किसानलाई १० प्रतिशत बोनस प्रदान गर्ने र बाँकी रहेको ४ प्रतिशत रकम पाँच वर्षपछि पेन्सनको रुपमा प्रदान गर्ने प्रस्ताव पारित गरेको संस्थाका अध्यक्ष भट्टले जानकारी दिए ।
कार्यक्रममा वडा नं–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, चितवन जिल्ला दुग्ध उत्पालक सहकारी संघका सचिव कल्याण अधिकारी, रत्ननगर नगरपालिका सहकारी शाखा प्रमुख अर्जुन पंगेनी, अग्रज महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मीना बुढाथोकीलगायतले मन्तव्य राखेका थिए ।
२४९ जना सेयर सदस्य रहेको सो सहकारीले वार्षिक ६ लाख १२ हजार ३५० लिटर दूध सङ्कलन गर्दै आएको छ । व्यवस्थापक पन्तले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष किशोर बगालेले सञ्चालन गरेका थिए ।






