भरतपुर । नारायणी नदीकिनारमा मङ्गलबारदेखि सुरू हुने खेलकुद तथा बृहत् व्यापार महोत्सवको तयारी पूरा भएको छ । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले तयारी पूरा भएको जनाएको छ ।
मङ्सिर २ गतेसम्म चल्ने महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बिहान ११ः०० बजे उद्घाटन गर्ने कार्यक्रम छ । त्यसअघि बिहान ९ः०० बजे झाँकीसहितको शोभा यात्रा निकालिने छ । महोत्सव परिसरबाट सुरू हुने शोभायात्रा लीलाचोक, पोखरा बसपार्क, क्षेत्रपुर, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै पुनः महोत्सव परिसरमा पुगेर समापन हुनेछ । महोत्सवमा निकालिने झाँकीमध्ये उत्कृष्ट तीन संस्थालाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइने छ ।
यस्तै, उद्घाटनको अवसरमा विभिन्न खेलको डेमोन्स्ट्रेसन प्रस्तुत गरिने चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए । कार्कीका अनुसार उद्घाटनमा कराँते, तेक्वान्दोलगायतका खेलाडी र प्रशिशकहरुले डेमो प्रस्तुत गर्नेछन् ।
महोत्सव परिसरमा व्यापारिक, कृषि, नेपाली उत्पादन, खाजा लगायतका लागि तीन सयभन्दा बढी स्टल निर्माण गरिएको छ । तीन दिनको लगातारको वर्षाले केही असर गरे पनि दुई सिफ्टमा गरेर काम गरिएको महोत्सव संयोजक विकल क्षेत्रीले बताए । महोत्सव परिसरभित्र प्रवेशका लागि लन्डन ब्रिज निर्माण गरिएको छ । दर्शकहरुले मुख्य प्रवेशद्धारमा टिकट लिएपछि लन्डन ब्रिज चढेरभित्र प्रवेश गर्नेछन् ।
लन्डन ब्रिजबाट भित्र प्रवेश गरेपछि दर्शकहरुले चितवनमा नै पहिलोपटक महोत्सव परिसरभित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । यसका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने उनले बताए ।
महोत्सवमा बिच भलिबल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु खेलाइने छ । यस्तै, नेपाली खेलकुदमा योगदान पु¥याएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरान सम्मान गरिने आयोजकले जनाएको छ । महोत्सवका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।






