काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि खेल क्षेत्रको महोत्सवका रूपमा सुरू हुन लागेको दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग (एनपिएल)को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिएका छन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग गृहमन्त्री अर्यालले एनपिएलको सुरक्षा तयारीबारे जानकारी लिएका हुन् ।
गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन निर्देशन दिएका छन् । बैठकमा अर्यालले भने, ‘पहिलोपटक रात्रिकालीन समयमा क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरूरी भएकाले सोहीअनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु ।’
क्यानले टिकट नपाएकाहरूले उद्घाटन खेल घरमै बसेर हेर्न आग्रह गरेको छ । क्यानका सचिव पारस खड्काले उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका छन् ।
मङ्सिर १ गतेदेखि २७ गतेसम्म हुने एनपिएलको दोस्रो संस्करणको तयारी पूरा भएको क्यानले जानकारी दिएको छ । एनपिएलका खेल स्टार स्पोर्ट्स र कान्तिपुर टिभीबाट प्रशारण हुनेछन् भने ओटिटी प्लेफर्ममा डिस होमको गो एपमा सःशुल्क प्रशारण हुँदैछ । क्यानले यसपटक एनपिएलका खेल युट्युबमा प्रशारण नहुने जनाएको छ ।








