देवघाट । विसं २००६ सालमा स्थापना भएको भर्जन कालिकामाईको मन्दिर निर्माण गरिएको छ । देवघाट–५ स्थित पिपलटारमा भर्जन कालिकामाई मन्दिर संरक्षण समितिले करिब सवा करोडको लगानीमा मन्दिर निर्माण गरेको हो । सिमसार क्षेत्रमा पर्ने स्थानमा २००६ साल मङ्सिरको धान्यपूर्णिमाको दिन धनबहादुर झिमाल नामका झाँक्रीले पूजा गरेर सुरू गरेको मन्दिर त्यतिबेला खरले बारेर स्थापना गरिएको थियो ।
२०४२ सालमा फलेकको छानोमा स्तरोन्नति गरिएको मन्दिर २०५२ सालमा आएर सिर्जना युवा क्लबको पहलमा ढुङ्गाको गारोमाथि जस्ताको छानो हालेको सानो मन्दिरलाई यसपटक ठूलो लगानीमा व्यवस्थितरुपमा निर्माण गरिएको मन्दिर संरक्षण समितिले जनाएको छ । २०७९ सालमा तत्कालीन राष्ट्रिय सभाकी सदस्य भगवती न्यौपानेमार्फत शिलान्यास गरिएको मन्दिर तीन वर्षमा निर्माण सम्पन्न भएको हो ।
मन्दिरको शिलान्यास भइसकेपछि बजेट अभावका कारण विभिन्न क्षेत्रमा चन्दा सङ्कलन गर्ने र केही सरकारी बजेटको व्यवस्थापनमा मन्दिर निर्माण गरिएको मन्दिरका अध्यक्ष केशवचन्द्र न्यौपानेले जानकारी दिए । तीन करोड ७६ लाख रूपैयाँ लागतमा डिपिआर तयार भएको मन्दिरमा हालसम्म देवघाट गाउँपालिकाको १३ लाख, देवघाट क्षेत्र विकास समितिबाट दुई लाख रूपैयाँसहित सवा करोड रूपैयाँ रकममा मन्दिरको स्वरुप स्थापना गरिएको उनले बताए ।
मन्दिरमा राख्नका लागि करिब दुई लाख ११ हजार रूपैयाँ मूल्यबराबरको १११.३०० किलो तौलबराबरको घण्टा राखिएको छ । उक्त घण्टाको लागि पनि दाताको खोजी भइरहेको समितिले जनाएको छ । ‘हाम्रो दाबीअनुसार तनहुँ जिल्लामै सबैभन्दा ठूलो घण्टा हामीले ल्याएका छौँ’, उनले भने, ‘यति ठूलो तौलबराबरको घण्टा अरु मन्दिरमा देखेका छैनौँ ।’
‘हामीले माघेसङ्क्रान्ति मेला र बालाचतुर्दशीको समयमा मेला स्थलमा कक्ष राखेर रकम सङ्कलन ग¥यौँ’, अध्यक्ष न्यौपानेले भने, ‘अझै पनि थुप्रै संरचना निर्माण गर्नुछ, त्यसका लागि बजेटको खोजी भइरहेको छ ।’ हरेक वर्ष चैत्र शुक्ल प्रतिपदाको दिनदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने मन्दिरलाई धार्मिक तीर्थस्थलको रुपमा विकास गर्ने लक्ष्य लिइएको उनले बताए ।
मन्दिरको गुरूयोजनाअनुसार आगामी दिनमा धर्मशालासँगै सचिवालय, ढुङ्गेधारासँगै अमृत जलकुण्ड, भक्तजन स्नानका लागि स्नान गर्ने जलकुण्ड तथा जैविक विविधता संरक्षणका लागि पानी पोखरी र पुष्प वाटिका निर्माण गर्नुपर्ने छ ।
‘यस मन्दिर क्षेत्रलाई नेपालकै एकमात्र मणिदीप क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएका छौँ’, उनले भने, ‘तर यी सबै लक्ष्य पूरा गर्नका लागि ठूलो बजेट आवश्यक पर्ने हुँदा आउँदो वैशाख ५ देखि १३ गतेसम्म विराट् ज्ञानमहायज्ञ देवीभागवत आयोजना गर्ने तयारी गरेका छौँ ।’ मन्दिरको स्वरुप निर्माण गरिसकिएको हुँदा यही चैत ६ देखि १३ गतेसम्म दैनिक देवीपाठ तथा आरती गरिने अध्यक्ष न्यौपानेले बताए ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले देवघाट क्षेत्रको परिचयलाई थप विकसित गर्ने काम भएको बताए । बीचमा केही समय सेलाए पनि फेरि मन्दिर समितिमार्फत संरक्षण र प्रवद्र्धन गर्दै भर्जन कालिकामाई मन्दिरको प्रचारप्रसारसँगै भौतिक विकास हुन थालेको उनले बताए । ‘मुलुकको विकासक्रमसँगै मन्दिरले पनि मुहार फेरेको छ’, उनले भने, ‘गाउँपालिकाको आर्थिक सामथ्र्य नहुँदानहुँदै पनि देशविदेशमा रहेका नेपालीको सहयोगले एउटा अभियान सफल भएको छ ।’
पालिकाले पनि सामथ्र्यले भ्याएसम्म सहयोग गर्दै आएको उनले बताए । मन्दिर नै मन्दिरको पालिकाको रुपमा विकास हुँदै आएको देवघाट क्षेत्रमा भएका यस्ता प्रकृतिका विकासबाट समग्र नेपालको धार्मिक पर्यापर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ । देवघाटधामसम्म आउने धार्मिक पर्यटकलाई मन्दिरसम्म ल्याउने वातावरण यहाँका स्थानीयले पनि गर्नुपर्ने अध्यक्ष मगरले सुझाव दिए ।






