रत्ननगर । रत्ननगर–१६ वडा कार्यालयस्थित पिठुवा स्वास्थ्यचौकीमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, लायन्स क्लब अफ रत्ननगर पिस, लायन्स क्लब अफ चितवन पिठुवा, लियो क्लब अफ रत्ननगर मिड नेपाल र लियो क्लब अफ रत्ननगर पिसको संयुक्त आयोजना एवम् पिठुवा स्वास्थ्यचौकीको समन्वय तथा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सो शिविर सम्पन्न भएको हो ।
लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष हेमराज आचार्यको अध्यक्षता एवम् लायन्स इन्टरनेसनल–३२५ आर का डिस्ट्रिक्ट गर्भनर पिएमजेएफ नवराज सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फस्ट भिडिजी प्रभाकर पण्डित, सेकेन्ड भिडिजी दीपेन्द्र खतिवडा, रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापा, डिस्ट्रिक्ट ट्रेजर विकास पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
लायन्स क्लब अफ रत्ननगर पिसका अध्यक्ष चक्रपाणि वाग्लेले स्वागत, मिड नेपालका सचिव धर्मराज चालिसेले सञ्चालन तथा लायन्स क्लब अफ चितवन पिठुवाका अध्यक्ष पुरुषोत्तम लामिछानेले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संयोजन शङ्कर पौडेल, रवीन्द्र श्रेष्ठ र पुरुषोत्तम लामिछानेले गरेका थिए ।
शिविरमा २६४ सेवाग्राहीले आँखा परीक्षण गरेकामा १३ महिलासहित २७ जनामा मोतियाविन्दुको समस्या देखिएकाले निःशुल्क शल्यक्रियाका लागि भरतपुर आँखा अस्पताल पठाइएको पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्माले जानकारी दिए ।
आँखा परीक्षण शिविरमा भरतपुर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञसहितको प्राविधिक टोलीले सेवा दिएको थियो भने पिठुवा स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए । 









