२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

भुक्तानी नपाए दुग्ध किसानले चरणबद्ध आन्दोलन गर्ने चेतावनी

भरतपुर । दुग्ध उत्पादक सहकारीले दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको चितवनमा सम्पन्न ३१औँ सञ्चालक समिति बैठकले दूधको भुक्तानी नपाएमा आगामी भदौ ४ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

दुग्ध उत्पादक सहकारीले भुक्तानी नपाउँदा किसानलाई समेत भुक्तानी गर्न नसकिएको जनाउँदै आन्दोलन गर्ने चेतवनी दिएका हुन् । सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरले भदौ ४ गते जिल्ला सहकारी सङ्घका अध्यक्षहरुको भेला आयोजना गर्ने र सोही भेलाले थप निर्णय लिने बताए ।

अहिले देशभरका दुग्ध उत्पादकले सरकारी र निजी क्षेत्रबाट गरी रू चार अर्ब बढी भुक्तानी पाउन बाँकी रहेको उनले जानकारी दिए । पटक–पटक वार्ता र छलफल गर्दासमेत भुक्तानी पाउने सम्भावना नदेखेपछि आन्दोलनमा जुट्नु परेको उनले बताए । उनका अनुसार दुग्ध विकास बोर्डको रू एक अर्ब र निजी क्षेत्रबाट रू तीन अर्ब भुक्तानी पाउनुपर्ने छ । सरकारसँग भएको वार्तापछिको ११ बुँदे सहमति कार्यान्वयनमा नआएको भन्दै सङ्घले आन्दोलनको तयारी गरेको हो ।

बैठकपछि बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सङ्घले दुग्ध उत्पादक किसानको रकम तिर्ने र नतिर्ने उद्योगको वर्गीकरण गरेर सार्वजनिक गर्नेसम्मका कार्यक्रम गरिने सङ्घका महासचिव राम आचार्यले जानकारी दिए । उनले भने “कतिपय उद्योगले भुक्तानी गरिरहेका छन् । त्यस्ता उद्योग र भुक्तानी नगर्ने उद्योगको वर्गीकरण गरेर भुक्तानी पाउनुपर्ने रकमसहित सार्वजनिक गछौंँ ।”

पटक–पटकका छलफलबाट निकास नआएको भन्दै उनले एक सातासम्म भुक्तानी बाँकी भएका उद्योगलाई भुक्तानी गर्नसमेत आग्रह गरे । सङ्घका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले दूध बेचेर घरगृहस्थी सञ्चालन गर्ने किसानलाई उद्योगीले अपहेलित गरेकाले आन्दोलनमा जाने तयारी गरिएको बताए ।

उनका अनुसार दुग्ध विकास बोर्ड र निजी उद्योगले सामान बिक्री भएपछि भुक्तानी दिने भनेर बताए पनि लामो समयदेखिको भुक्तानी बाँकी रहेको बताए । दुग्ध विकास बोर्डले गत माघ महिनादेखिको भुक्तानी दिन बाँकी रहेको छ, भने निजी क्षेत्रको मङ्सिरदेखिको भुक्तानी दिन बाँकी रहेको छ ।

सङ्घका सचिव थानेश्वर सापकोटाले विभिन्न बाहनामा किसानको दूधको भुक्तानी उद्योगीले नदिएको भन्दै आक्रोश व्यक्त गरे । यही अवस्था रहे दुग्ध उत्पादक किसान समस्यामा पर्ने भन्दै सरोकारवालाले समस्या समाधानमा चासो दिनुपर्ने बताए । सरकार र निजी क्षेत्र उदासीन बन्दा दुग्ध उत्पादक किसान समस्यामा रहेको उनको भनाइ छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।