चितवन । वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट पीडित रहेका नन्दनको आइतबार राति साढे ९ बजेतिर उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको हो ।
नन्दनले लेखेका गीतहरुमा नातिकाजी, शम्भुजित बाँस्कोटा, गोपाल योञ्जनलगायतका संगीतकारले संगीत र आशा भोस्ले, सुरेश वार्कर, नगत अजिज, उदीतनारायण, दिपा झा, प्रेमध्वज प्रधान, शिव शंकर, प्रसाद श्रेष्ठलगायतका गायक गायिकाहरूले स्वर दिइसकेका छन् ।
नन्दनका झटारो, अञ्जली, सपनीवाट ब्यूझेर, विपनीका पाइलाहरु, ऐना भित्रको आकाश गिती संग्रह, सिद्धार्थको ग्रह त्याग लघु काब्य र पत्रम पुष्पम कविता संग्रह २०७७ प्रकाशित छन् ।
उनले छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए ।
नन्दन गीत, गजल र कविता लेखनमा सक्रिय थिए । चार गीतिसङ्ग्रह, एक लघु काव्य र एक कविता सङ्ग्रह प्रकाशित छन् । विसं २०११ सालमै ‘झटारो’ गीतिसङ्ग्रह प्रकाशन गरेका उनका गीत नेपाली चलचित्रमा पनि समावेश छन् ।
दर्जनौँ गीतहरु चलचित्र क्षेत्रमा ख्याती प्राप्त छन् । उनका गीतिसङ्ग्रहहरु अञ्जली (२०२३), सपनीबाट ब्यूँझेर (२०२३), बिपनीका पाइलाहरु (२०५२), ऐना भित्रको आकाश (२०६३), सिद्धार्थको गृह त्याग लघुकाव्य (२०७४) र पत्रम पुष्पम (कवितासङ्ग्रह) २०७७ प्रकाशित भएका छन् । यस्तै, राष्ट्रिय गान छनोटका क्रममा उनको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो ।
उनले लामो समय बागिश्वरी, दोभान, मारुनी, गोधुुलीलगायतका साहित्यिक पत्रिकाहरु पनि सम्पदान गरेका थिए । अनौपचारिक शिक्षा आर्जन गरेर गीतसंगीत र साहित्यमा लागेका हुन् ।
नन्दनलाई राष्ट्रकवि माधव घिमिरे नेपाली साहित्यका ‘गोलसिमल’ भन्ने गरेका थिए । विसं १९९२ साल जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मिएका नन्दन बसाइँ सरेर नारायणगढमा बस्दै आएका थिए ।
चितवनको पुरानो सांस्कृतिक संस्था नारायणी कलामन्दिर र दर्जनौँ साहित्यिक संघसंस्थामा नेतृत्व गरिसकेका नन्दन छिन्नलता गीत पुरस्कार, नारायणी प्रज्ञा पुरस्कारलगायतका पुरस्कार र सम्मानबाट सम्मानित स्रष्टा हुन् ।
नन्दनको अन्त्येष्टि सोमबार नै देवघाटमा गरिनेछ । उनको पार्थिव शरीरलाई बिहान ९ बजेदेखि नारायणी कला मन्दिरमा राखेर श्रद्धाञ्जली दिने कार्यक्रम तय गरिएको छ । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।









