भरतपुर । लागूऔषध ट्रामाडोलसहित सात जना चितवनबाट पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–९, पारस बसपार्कस्थित न्यू धौलागिरि थकाली भान्साघर एण्ड लजबाट मङ्गलबार १७ हजार ४०० क्याप्सुल ट्रामाडोलसहित सात जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
पक्राउ पर्नेमा माडी नगरपालिका–१ बस्ने २४ वर्षीय अनिष श्रेष्ठ, कालिका नगरपालिका–५ बस्ने २१ वर्षीय शान्ति गुरूङ, पर्साको ठोरी गाउँपालिका–२, टाउन बस्ने २१ वर्षीय विनायक तामाङ, भञ्ज्याङ बस्ने २५ वर्षीय सूर्य लामा, सोही ठाउँ बस्ने १८ वर्षीय प्रदीप लामा, २४ वर्षीय प्रदीप न्यौपाने र भारतको बिहार राज्य पश्चिम चम्पारण बस्ने २४ वर्षीय आर्यन कुमार रहेका छन् ।
पक्राउ परेकाहरुमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको खनालले बताए । थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको उनले जानकारी दिए ।
प्रहरीले एक हजार ७४० पत्ता लागूऔषध ट्रामाडोल बरामद गरेको हो । एउटा पत्तामा १० क्याप्सुल हुन्छ । चितवन लागूऔषध कारोबार तथा ओसारपसारको ‘ट्रान्जिट पोइन्ट’ बन्दै गएको छ ।









