
हिरा लामा
अध्यापनको सिलसिलामा पश्चिम चितवनको रामपुर र शारदानगरमा करिब १० वर्ष बिताएँ । समयको त्यो अवधिमा थोर बहुत राजनीतिको कुरा चल्दा बेला बखतमा आउने एउटा नाम थियो- बखानसिंह गुरुङ । जुन नाम म सानो हुँदा ठूलो दाइहरुबाट पनि सुन्ने गर्थेँ । पछि बखान सहकारीको कुराहरु सुन्नमा आए । बखानसिंहको बारेमा अलि धेरै थाहा पाउँदै गएँ अनि लाग्यो बखानसिंहको बारेमा कसैले बायोग्राफी वा उपन्यास लेखोस् !
सकेसम्म आफन्तबाटै होस् ! वा शारदानगरका कुनै लेखकले । एकदुई जनालाई सम्झेँ पनि । यो वि.स.२०७० /२०७१ को समय थियो । र केही समय अघि सामाजिक संजालमार्फत थाहा पाएँ – ” बखान ” उपन्यास लिएर वसन्तजी आउँदै रहेछन् । निकै खुशी लाग्यो र चितवन पुगेको भोलिपल्ट उपन्यास लिन सम्पूर्ण किताबमा पुगेँ ।
” बखान ” दुई बसाइमा सकेछ । कहिँ कतै नअल्झेर पढियो । मतलब अल्छी लागेन पढ्दै गर्दा । एक पछि अर्को घटना / अध्याय पढ्दै जाँदा पट्यार लागेन । ” बखान बा ” र उहाँको छोराहरुले गरेको प्रजातान्त्रिक आन्दोलनको लागि गरेको संघर्ष र बलिदानी अभूतपूर्व छ । सलाम छ ! यो परिवारलाई !
” बखान ” पढ्दै गर्दा मैले सुनेका दुइवटा कुराहरू यसमा आउँछ कि आउँदैन ? भनेर पनि पढ्न बसेको थिएँ । एउटा “हो कि हो कि ! जसरी आयो , अर्को आएन ।
आएको कुरा :
त्यो बेलामा बिपी भारतमा थिए । अनि पार्टीको काम विशेषले सुवर्ण शम्शेर वा अरु नै कोहिलाई बिपीले एउटा चिठी पठाए । बिपीले हल्कारालाई भने , ” यो चिठी जसको नाममा छ , उनैलाई दिनु ! गुरुङलाई नदिनु ! ” बिपीको यस्तो निर्देशन आए पछि हुन्छ भनेर उनी नेपाल लागे । तर बाटोमा उनले त्यो पत्र खोलेर हेरे । त्यसमा ” अरु जो भए पनि हुन्छ तर गुरुङ अघि बढेमा हामीलाई राम्रो हुँदैन ! ” लेखेको देखे । यो देखेर हल्कारा छाँगाबाट खसेको जस्तो भयो ! यो कुरा मैले २०६७ तिर सुनेको हुँ । “
त्यो पत्रमा ” गुरुङ ” भनेको व्यक्ति सायद बखानसिँह गुरुङ नै होला । “बखान ” मा २०१५ सालको चुनावमा बखानसिँह निर्वाचनमा उठ्न खोज्ने तर पार्टी उनलाई उठ्न नदिने प्रसङ्ग छ ! यो प्रसङ्गले सायद त्यो कुरा पुष्टि हुन्छ । अर्को कुरा ” बखान” मा बन्दीपुरको आक्रमण पश्चात् प्रजातान्त्रिक आन्दोलनकारीहरुले बन्दीपुर कब्जा गरेर जनसरकार घोषणा गर्छ । त्यहाँ धेरै जनजातिहरुले शहादत प्राप्त गर्छ तर जनसरकारको गभर्नर तथा प्रधानमन्त्री , अर्थमन्त्री ,न्याय मन्त्री ,शिक्षा मन्त्री , उध्योग तथा वाणिज्य मन्त्री , स्वास्थ , कृषि मन्त्री सबै गैर जनजातिहरु नाम सार्वजनिक हुन्छन् अनि रक्षा मन्त्रीमा बखानलाई अनुरोध गरेका छन् । सायद सेनामा भएर होला यदि बखान बा सेनामा नभएको भए ???
बिपी लगायत नेपाली काङ्ग्रेस जनजाती प्रती उति उदार छैन भनेको सुनेको त्यो कुरा बखान पढे पछि हो जस्तो लाग्यो ।
समयको पाइला अघि बढ्दै जाँदा बिपी र बखा बीच मतभेद अझ बढ्दै जान्छ । र पछि बखान सुवर्ण समशेरतिर नजिकिन थाल्छ्न् । पार्टी प्रती असन्तुष्टहरु मिलेर ३८ से समुह स्थापना गर्छन् । २०३७ को निर्वाचनमा बखान उम्मेदवार हुन्छन् र जित्छ्न् पनि । र जितेको दिनदेखि बखान ” निलो रङ ” बाट “पहेलो रङ ” तिर सर्छन् ! र सुर्य बहादुर थापाको मन्त्री मण्डलमा भूमीसुधार तथा न्याय तथा कानुन मन्त्री बन्छन् !
नआएको कुरा :
टाइगर टप्स होटलको प्रसङ्ग !
टाईगर टप्स ! यो ऎतिहासिक होटल सायद २०२०/२१ तिरबाट सुरु भएको होला । कतै पढेको थिएँ । [ हालमा यो होटल बन्द छ । यो होटल बन्द भएको करीब १०,१२ वर्ष
भयो होला ] ।
राजा महेन्द्रको सिकार खेल्ने शौख , उस्तै शोख भएको एक अमेरिकी सङ्ग चिनजान , उनले मेघौली क्षेत्रमा भाडामा जमीन लिएर एउटा होटल खोल्ने प्रस्ताब महेन्द्रलाई राख्नु , महेन्द्रले स्वीकार गर्नु , दुबै सिकार खेल्न जानू , पछि महेन्द्रको अन्तिम समयमा दुबै सङ्गै बसेर खानपिन गर्नु , मुटुको व्यथा लाग्नु , नेपाल र भारतबाट डाक्टर बोलाउनु र महेन्द्रको मृत्यु हुनु र उक्त अमेरिकी नागरिक नेपाल छोड्नु । उनी जन्मले भारतीय हुनु ! महेन्द्रको मृत्युमा अनेकौं शङ्का उठ्नु !
यो प्रसङ्ग भने “बखान” मा आएन । महेन्द्रको मृत्यु एउटा रहस्य भएर रहेको छ – खासगरी भारतीय डाक्टर उनको उपचार गर्न आउनु र उपचार सफल नहुनु र उक्त अमेरिकी नागरिक होटल छोडेर गएपछि नेपाल नआउनु ! अनि विभिन्न थरिका कन्स्पिरेसी थ्योरी आउनु !
” बखान” मा वसन्तजीले बखानसिँह गुरुङको जीवनीलाई आख्यानमा ढालेका छन् । तत्कालीन राणाशासन र पञ्चायतकालीन राजनीतिक दबाव बिच प्रजातान्त्रिक लडाइँमा आफ्ना दुई जवान छोराहरु गुमाएको कथा छ । बलिदान , दुःख , पीडा, र बस्ती विकासका कथा पस्किएका छन् । उनले बखानसिंहद्वारा स्थापित नेपालको पहिलो सहकारी संस्था, भूमि विकास, थारु र नेवारी संस्कृति र विविध सामाजिक र ऐतिहासिक पाटोहरूलाई पनि समेटेका छन् ।
यति मात्र नभएर उपन्यासमा राजा महेन्द्रको निधन, चितवन निकुञ्ज स्थापनामा राजाको भूमिका , गुरुङ समुदायको संस्कृति र मलेरियासँगको संघर्ष आदि घटनाहरू कलात्मक रूपमा प्रस्तुत गरिएको छ । यस बाहेक पढिसकेपछि मलाई लागेका एक दुई कुरा राख्न चाहेँ ।
लेखकले मुख्य पात्र बखान बाको चरित्र विकासमा अलि समय नदिएको हो कि ! जस्तो लाग्यो । बखान बाको चरित्र विकासमा अझ समय दिएर गहिरो सङ्ग स्थापित गर्न सकेको भए उपन्यास अझ बलियो हुन्थ्यो । बखान बा भित्रको मनोवैज्ञानिक द्वन्द , पार्टी सङ्गको कन्फ्लिक्ट , उनको समस्या र कमजोरी अलि पातलो गरि आयो कि भन्ने लागेको हो मलाई ! उसो त जीवनीलाई आख्यानमा ढाल्नु कम चुनौती होला र !?!
त्यस्तै देवघाट , सोमेश्वरगढी , उपरदाङगढी , हात्ती , गैडा प्रजननका जस्ता प्रसङ्गहरु छोट्याएर आएको भए राम्रो हुन्थ्यो कि ! यसो गर्दा पाठकको लागि कथा प्रवाहमा सहजता आउने थियो कि !
र अर्को कुरा बखान बाकी कान्छी श्रीमती मनकुमारी सङ्गको राणा दरबारमा आकस्मिक भेट अनि बिछोड ! यो कथाले उपन्यासको अन्तमा पक्कै पनि मनलाई अचेट्छ जस्तो सुरु मै लागेको हो , त्यस्तै भयो । मनकुमारी सङ्गको बखान बाको त्यो दृश्यले पाठकलाई चरप्पै समात्छ ! त्यस्तै मलेरियाको संघर्समा उनलेे आफ्नो नाति गुमाउने प्रसङ्ग पनि निक्कै मर्मस्पर्शी छन् ।
“बखान”मा राजनीति, क्रान्ति, समाज विकास मात्र छैन । यसमा प्रेम छ । धैर्यता छ । त्याग र समर्पण पनि छ ।
” बखान ” चितवनको माटोले दिएको एउटा राम्रो कृति हो । यो चितवनबासीको मात्र नभएर अब सबैको बनेको छ ।
बखानले तपाईंलाई गोर्खा , तनहुँ , चितवनको सौराहा , पदमपुर( पुरानो ) , बखानपुर , भुवनबस्ती , काठमाडौँ, ठोरी , माडी , नरकटियागन्ज जस्ता ठाउँहरुमा घुमाउँछ ।
“बखान”लाई धेरै बधाई ! बखान बा र बाका दुबै छोराहरु जो प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरे , उहाँहरुलाई श्रद्धा सुमन अर्पण छ !






